मंगलबार, पुष २३, २०८१
12:05 | १७:५०

‘मिसेस नेपाल युनिभर्स’ विमलाले गरिन् नेपालका अनाथलाई सहयोग

नेपाली लिङ्क डिसेम्बर २३, २०२३


लन्डन- ‘मिसेस नेपाल युनिभर्स २०२३’ तथा ‘मिसेस ह्युम्यानिटी’ विजेता विमला बुढाथोकीले अनाथ बालबाटिका संघ नेपाललाई सहयोग उपलब्ध गराएकी छन् । 

च्यारिटीबाट संकलित र आफ्नो तर्फबाट केहि रकम थप गरि उनले संघका बालबालिकालाई लत्ताकपडालगायत सामाग्री सहयोग गरेकी हुन् । 

बालबालिकालाई जाडोमा लगाउने कपडा, खाद्य सामग्रीका साथै औषधि उपचारका लागि २० हजार रुपैयाँ नगद सहयोग गरेको विमलाले जनाइन् । 

सहयोग सामग्री उनका मामा राम थापाले हस्तान्तरण गरेका थिए । उनले पठाएको सहयोगबाट ट्रयाकसुट, गोल्डस्टार जुत्ता, स्कुल युनिफर्म तथा खाद्यान्न जस्ता सामाग्री प्रदान गरिएको हो।

संघकी अध्यक्ष श्रीमती रीता राईको अनुरोधमा सहयोग उपलब्ध गराएको र यसबाट अन्य सहयोगी हातहरुलाई पनि प्रोत्साहन मिलोस् भन्ने आफ्नो चाहना रहेको विमलाले बताइन् ।

राईले जाडो समयमा न्यानो लुगा उपलब्ध गराइदिएकोमा संघ र बालबालिकाले विमलालाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् । यस अघि पनि पटक पटक सहयोग गर्दै आएकी विमलाले गतवर्ष बालबालिकालाई भोजन गराएकी थिइन् । 

भावी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने उनले बताइन् । 


सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् । 

सन् २०२३ अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस युनिभर्स २०२३ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस ह्युम्यानिटी २०२३’ को उपाधि जेतेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू