बिहीबार, पुष १८, २०८१
19:11 | ००:५६

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धिको १०० वर्ष पुग्यो

नेपाली लिङ्क डिसेम्बर २१, २०२३

काठमाडौँ – नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको बिहीबार १०० वर्ष पुगेको छ । सन् १९२३ डिसेम्बर २१ मा सिंहदरबार (हाल प्रधानमन्त्री कार्यालय) को स्टेट हलमा भएको थियो ।

परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको त्यही हलमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपालका लागि बेलायतका राजदूत रब फेनलाई बोलाएर उक्त सन्धिलाई फेरि एकपटक स्मरण गरेको छ ।

परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै सन् १९२३ को सन्धिले दुई मुलुकबीच गहिरो मित्रता र विश्वास स्थापित गरेको प्रष्ट पारे ।

बेलायती राजदूत फेनले १०० वर्षको उपलक्ष्यमा हुन गइरहेको कार्यक्रममा सन्धिको हस्ताक्षर नै भएको स्थानमा भएकोमा खुसी व्यक्त गरे । उनले नेपाल कहिले पनि कसैको अधीनमा नरहेको मुलुक भएको उल्लेख गरे । 

परराष्ट्र सचिव सेवा लम्सालले बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक रहेको र धेरै दशकदेखि नेपालको विकासमा सहयोग गर्दै आइरहेको बताइन् ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए ।

त्यही सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू