प्रवासी नेपालीका पीडा झल्काउने कृतिमाथि समालोचकहरुले गरे टिप्पणी
लण्डन- बेलायत निवासी डायस्पोरिक साहित्यकार कृष्ण बजगाईंको १६ औं कृति तथा पाँचौं लघुकथासङ्ग्रह ‘कागजको मन्त्री’ माथि अन्तरक्रिया भएको छ ।
स्रष्टा साँझ अमेरिकाले हालै गरेको भर्चुअल कार्यक्रममा विभिन्न समालोचकहरुले कृतिबारे चर्चा गरे । समालोचक डा. शेखरकुमार श्रेष्ठले बजगाईंका कथामा राजनीतिक र सामाजिक विषयका आएका कुरा बताउँदै लघुकथामार्फत विकृति र विसंगतिमाथि प्रहार गरिएको बताए ।
लघुकथामा पहिलो पिएचडी गर्ने डा. पुष्करराज भट्टले बजगाईंका लघुकथा वर्णनात्मक र संवादात्मक दुवै शैली रहेको बताउँदै पात्र र परिवेशलाई विम्बका माध्यमले प्रस्तुत गरेको उल्लेख गरे ।
लघुकथामा पिएचडी गर्ने अर्का वक्ता डा. हरिप्रसाद भण्डारीले बजगाईंका लघुकथाको प्रारम्भ र अन्त्य एकदम प्रभावकारी रहेको बताए । उनले बजगाईंका लघुकथामा प्रवासी नेपालीले भोग्नु परेका पीडा पनि समावेश भएको धारणा राखे ।
गोरखापत्रका पूर्व सम्पादक तथा लघुकथा समाजका सस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथालाई स्थापित गराउन अभियन्ताका रुपमा कृष्ण बजगाईं सक्रिय रहेको बताए । उनले ‘कागजको मन्त्री’ लघुकथासङ्ग्रह लघुकथा पाठकको भित्री मनसम्म प्रवेश गरेर स्थायी प्रभाव छाड्न सक्षम रहेको उल्लेख गरे।
सहप्राध्यापक डा विदुर चालिसेले बजगाईका लघुकथाका ट्विस्टिङ आकर्षक रहेको बताउँदै उनले कथामा नयाँ शब्दको व्युत्पत्ति गराएर कथामा रोचकता ल्याउने उनको विशेषता रहेको बताए ।
प्रा. डा. कपिल लामिछानेले बजगाईंका लघुकथा लेखनमा वैचारिकरुपमा प्रष्ट रहेको बताए । ‘आग्रहबाट टाढा रहेर कथा लेख्ने बजगाईका कथाले समाजमा विग्रह गराउँदैनन्, उहाँ यथार्थको नजिक रहेर कथा लेख्नुहुन्छ’, प्रा. डा. लामिछानेले भने ।
सहप्राध्यापक खेमराज पोखरेलले बजगाईंको लघुकथा नेपाल सरकारले पाठ्यक्रममा राखेर पढाई भइरहेकाले त्यसबाट उनको लघुकथाका स्तर अनुमान गर्न सकिने बताए । बजगाईंका लघुकथा लेखन अरुको भन्दा फरक प्रकृतिको रहेको उनको दावी थियो । पाठकहरुले बजगाईंका लघुकथामा अझ बढि डायोस्पोरिक कथाहरुको अपेक्षा गरेको पोखरेलले बताए ।
कार्यक्रमका सभापति प्रा. डा. भूपप्रसाद धमलाले ‘कागजको मन्त्री’ लघुकथासङ्ग्रहका लघुकथा प्रभावकारी रहेको बताउँदै त्यसको अझ गहनरुपमा समालोचना हुनुपर्ने बताए ।
साहित्यकार तथा प्राध्यापक विश्वराज अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा साहित्यकार राजेन्द्र अर्याल र इन्दिरा देवकोटाले पनि बोलेका थिए ।
नेपाली साहित्य लेखन र सम्पादनमा सक्रिय कृष्ण बजगाईं विगत १६ वर्षदेखि प्रकाशित हुँदै आएको समकालीन साहित्य डटकम नामक साहित्यिक वेव पत्रिका र विगत छ वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक जर्नल ‘प्रवासन’ को प्रधान सम्पादक छन् ।
साहित्यकार बजगाईंका एक लघुकथा नेपाल सरकारको कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा र अर्को लघुकथा म्यान्मार (बर्मा) स्थित नेपाली विद्यालयको कक्षा ९ मा पढाई हुन्छन् ।
यसैगरि सरकारी र निजी विद्यालयको विभिन्न तहमा उनका २१ वटा बालकथा पाठ्यक्रममा समावेश भएर पढाई भइरहेका छन् भने ४ वटा नियात्रा नेपालका ४ वटा विश्वविद्यालयको स्नातक तहमा पढाई हुन्छन् ।