वंशजको नेपाली नागरिकता अभियान विश्वव्यापी बन्दै, शेर सुनार बेलायत संयोजक



बेलायत संयोजक शेर सुनार (बायां) र अन्तर्राष्ट्रिय संयोजक योगेन्द्र क्षेत्री
लन्डन । वंशजको नेपाली नागरिकता निरन्तरताका लागि विश्वव्यापी अभियान तीव्र रुपमा अगाडि बढेको छ ।
विदेशमा बसेका नेपालीलाई एनआरएनए नागरिकता दिएर होइन वंशजको नागरिकता निरन्तरता दिएर नेपाल फर्कने वातावरण बनाउने उद्देश्यले गठन गरिएको नेपाली वंशज नागरिक संघका विभिन्न देशमा वैदेशिक कमिटी गठन हुन थालेका छन् । संघको एप्स् ‘एनबीएनएस ग्लोवल’ पनि सञ्चालनमा आएको छ ।
यसै क्रममा लामो समयदेखि बेलायतमा बस्दै आएका समाजसेवी ब्यक्तित्व शेर बहादुर सुनार नेपाली वंशज नागरिक संघ बेलायतको संयोजक तोकिएका छन् । भूतपूर्व ब्रिटिश गोर्खा सुनार एनआरएनए यूके पूर्व उपाध्यक्ष, प्रमुख संरक्षक, सृजनशील नेपाली समाज यूके संस्थापक हुन् भने उनी बेलायतका कयौं सामाजिक संघसंस्थामा सल्लाहकार छन् ।
नेपाली वंशज नागरिक संघका अन्तर्राष्ट्रिय संयोजक योगेन्द्र बहादुर क्षेत्रीले सुनारलाई बेलायत संयोजकको जिम्मेवारी दिंदै आफ्नो विश्वव्यापी अभियानमा जोडिएको बताए ।
‘यो अभियानमा जोडिन अन्य धेरै देशहरुबाट साथीहरुले पहल गरिरहनु भएकाले छिट्टै नै विश्वभर नेपाली वंशज नागरिक संघ विस्तार हुंदैछ’, क्षेत्रीले भने, ‘यसको मुख्य उद्देश्य वंशजको नागरिरता निरन्तरताका लागि विश्वव्यापी अभियान सञ्चालन गर्नु हो । यही उद्देश्यका साथ हामीले यो अभियान संचालन गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने प्रयत्न गरिरहेका छौं ।’
आफ्नो वंशजको अस्तित्व रक्षाका लागि यस अभियानमा जोडिन चाहनेहरुले आफूलाई सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।
‘हामी गैरआवासीय नेपालीका लागि सरकारले हालै नागरिकता सम्बन्धी जुन व्यवस्था गरयो त्यसले गैरआवासीय नेपालीबीच नै फाटो र विभाजन ल्याइदियो’, अन्तर्राष्ट्रिय संयोजक क्षेत्रीले भने, ‘केही एनआरएनए साथीहरुले अहिले सरकारले गरेको नागरिकता सम्बन्धी व्यवस्थालाई सकारात्मक भनेपनि विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीले विरोध गरिरहेका छन् । उनीहरु चाहन्छन् वंशजको नागरिकता निरन्तरता होस् ।’
नेपालमा सम्पत्ति किनबेच मात्र होइन विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई मातृभूमिसंग जोड्नपनि वंशजको नागरिकताको आवश्यकता अपरिहार्य रहेको क्षेत्री बताउंछन् । ‘गैरआवासीय नेपालीहरुका सन्तानलाई नेपालसंग जोड्न पनि वंशजको नागरिकता कोशेढुंगा हुन्छ भन्ने हाम्रो बुझाई हो । त्यसैले नेपालमा सांच्चिकै लगानी भित्रयाउने र विकासको गति बढाउने हो भने नागरिकता सम्बन्धी अहिलेको व्यवस्था संशोधन गर्नुपर्ने हाम्रो माग छ । आफ्ना नागरिकलाई अनागरिक बनाउंदै लैजाने तर विदेशीलाई नागरिकता दिंदै जादा नेपालको राष्ट्रियतामा दीर्घकालिन रुपमा कस्तो असर पर्ला ?’, क्षेत्रीले प्रश्न गरे ।
नेपालमा प्रणालीको विकास होस्, सुशासन कायम होस् र सबै नागरिकले समान र न्यायोचित तवरले जीवनयापन गर्न सक्ने वातावरण बनोस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
‘हामी विकासको यात्रामा सहभागी हुन्छौं भन्दा नागरिकताबाटै वञ्चित गरियो । देशमा औद्योगिक वातावरण भएर रोजगारीका पर्याप्त अवसर दिएको भए कुनै नेपालीलाई विदेश जानुपर्ने वाध्यता हुंदैन थियो’, उनी भन्छन्, ‘सरकारले एकातिर होनहार युवालाई कामका लागि विदेश पठाइरहेको छ भने अर्कोतर्फ उनीहरुलाई वंशजको नागरिकताबाट वञ्चित गरेर विदेशमै बस् नेपालमा नआउ भन्छ । त्यसैले यो विभेद अन्त्य गर्न हामी अग्रसर हुन जरुरी छ ।’
उता, प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले पनि अहिले आफ्नो एकमात्र प्रमुख एजेण्डा ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ लाई अगाडि बढाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५