बुधबार, पुष २४, २०८१
12:20 | १८:०५

बुद्ध फाउन्डेसन यूकेले लुम्बिनी क्षेत्रको प्रचार र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

नेपाली लिङ्क डिसेम्बर ११, २०२३


लन्डन- बुद्ध फाउन्डेसन् यूकेले बुद्ध र लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि स्थानीय निकायहरुसंग सहकार्य र समन्वय गर्ने भएको छ।

आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न फाउन्डेसनको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले ती निकायहरुसँग संस्थागत सम्बन्ध विकासका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले २९ वर्ष बिताएको कपिलवस्तु नगरपालिकाअन्तर्गत तिलौराकोट,  बुद्धको मावली देवदह नगरपालिका, बुद्धको अष्टधातु रहेको (रामग्राम स्तुपा) रामग्राम नगरपालिकासँग फाउन्डेसनले सहकार्य गर्नेछ ।  

बैठकमा विशेष अतिथिका रुपमा सहभागी लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले लुम्बिनी र बुद्ध परिपथको पर्यटन प्रवर्द्धनका लागि बुद्ध फाउन्डेसन् यूकेले गर्दै आएका गतिविधिको प्रशंसा गरे। 

लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी र बुद्धपरिपथलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग सहकार्यको नीति लिएको जानकारी गराउंदै उनले बुद्ध फाउण्डेसन यूकेसँग सहकार्य गर्न पाउंदा खुशी व्यक्त गरे।

बुद्ध फाउण्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठले लुम्बिनी सांस्कृतिक नगरपालिकासहितका स्थानीय निकायसँग सहकार्यको अवसरले आफूहरुलाई उत्साहित बनाएको बताए।

बैठकमा सहभागी विशेष अतिथि लामिछानेसहित सबै सल्लाहकार, संघसंस्थाका प्रतिनिधि र कार्यसमिति पदाधिकारीलाई उनले धन्यवाद ज्ञापन गरे । 

सल्लाहकारद्वय विनोद ज्ञवाली र डा हरिश ज्ञवाली, पासा पुच साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ र इनास अन्तराष्ट्रिय कमिटी उपाध्यक्ष मनिषकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखे।  

सो अवसरमा लामिछानेलाई फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठ र पदाधिकारीहरुले खादा र मायाको चिनोसहित लण्डनमा स्वागत गरेका थिए। त्यस्तै, उनले लुम्बिनी र बुद्ध परिपथको प्रचार प्रसारका लागी निर्माण गरिएका लुम्बिनी स्मारिका, लुम्बिनी प्रतिवेदन, लुम्बिनी ब्रोसर र बुद्ध मुर्तिलागायत सामग्री फाउन्डेसनलाई हस्तान्तरण गरेका थिए।

उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए।

बैठकमा कार्यसमिति पदाधिकारी ह्यारी गुरुङ, सदस्य अञ्जना थापा, धनराज मल्ल, मिनबहादुर पुन र आगन्तुक विरेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ  र दिपेन्द्र लामिछानेलगायतको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू