आइतबार, मंसिर ९, २०८१
06:20 | १२:०५

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

नेपाली लिङ्क डिसेम्बर ३, २०२३


अमेरिका–विज्ञहरुले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पबाट जोगिन पूर्व तयारीमा जोड दिएका छन्।

जय नेपाल फाउण्डेशनले आइतबार आयोजना गरेको भर्चुयल कार्यक्रमलाई सम्बोधन गर्दै त्रिचन्द्र क्याम्पस भूगर्भ विभाग प्रमुख डा. सुबोध ढकालले इन्डियन र तिब्बतियन प्लेटको बीचमा रहेकाले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको बताए। ‘सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन । अब हामीले भूकम्प प्रतिरोधात्मक क्षमताका घरहरु निर्माण गर्न जोड दिनुपर्छ’- उनले भने- ‘त्यसका लागि सरकारले बनाएको नीति नियमहरु कार्यान्वयन गरेर अघि बढ्नु पर्छ । यसैगरी भूकम्पको विषयमा जनचेतना जगाउनका लागि काम सुरु गर्नु पर्छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) संग आबद्ध भूकम्पविद् डा. शिव सुवेदीले सन् २००३ मा इरानमा ६.६ म्यग्निच्युडको भूकम्प जाँदा ३४ हजारको ज्यान गएको र  २०१६ मा न्युजिल्यान्डमा ७.७  म्यग्निच्युडको भूकम्पमा जम्मा ५७ जनाको ज्यान गएको स्मरण गरे । गोरखा र जाजरकोटमा गएको भूकम्पको तुलना गर्दा घर निर्माण गर्दा प्रयोग गरिएको तरिका तथा सामाग्रीहरू नै धेरै क्षति हुनुको प्रमुख कारण रहेको पाइएको उनले बताए।  

नेपालमा पनि भूकम्प पूर्व सूचना प्रणाली विकास गर्न सके कुनै ठाउँमा भूकम्प जाँदा देशैभर तुरुन्त यस सम्बन्धी जानकारी पुग्ने र ठूलो क्षति हुनबाट जोगाउन सकिने धारणा उनको थियो ।

अमेरिकन सोसाइटी अफ नेपाली इन्जिनियर्स ग्रेटर ह्युस्टन च्याप्टरका सल्लाहकार डा. राजेन्द्र श्रेष्ठले चिलीमा हैटीमा भन्दा शक्तिशाली भूकम्प जाँदा समेत भूकम्पको लागि पूर्व तयारी भएका कारण धेरै कम क्षति भएको बताए । “हाम्रो हिमाली क्षेत्र भूकम्पको धेरै जोखिममा रहेकाले अन्य देशहरूको अनुसरण गर्दै अहिलेदेखि नै पूर्व तयारीमा लाग्नु पर्ने आवश्यकता छ,” उनले भने ।

क्यानाडास्थित बिजीसी इन्जिनियरिङ इङ्कसंग आबद्ध जियोटेक्निकल इन्जिनियर डा. केशव शर्माले नेपालमा सन् २०१५, चिलीमा सन् २०१० र २०१४ मा गएको भूकम्पको तुलना गर्दा चिलीमा कम क्षति हुनुमा चिलीले हरेक पटक भवन कोडमा सुधार गर्दै जानु मुख्य कारण रहेको बताए । भूकम्पबाट हुने क्षति कम गर्न चरणबद्ध रूपमा घरहरूको ‘रेट्रोफिटिङ’ गर्न आवश्यक भएको उनले बताए ।

अष्ट्रेलियास्थित वैज्ञानिक डा. राजु अधिकारीले प्राकृतिक प्रकोप पश्चात मानसिक रूपमा पर्ने असर कम गर्न मनोपरामर्श सेवा प्रदान गर्नुपर्ने बताए । 

भू-प्राविधिक समाज, नेपालका अध्यक्ष डा. मन्दिप सुवेदीले संस्थागत विकासको लागि बढी ध्यान दिनु पर्ने तथा गाउँको साधारण व्यक्तिले समेत बुझ्ने गरी योजना तयार गर्न जरुरी रहेको बताए ।

अमेरिकाको नेभादा विश्वविद्यालयमा पोस्ट डक्टरल स्कलर डा. सतिश मानन्धरले नेपाल, टर्की र न्युजिल्याण्डको उदाहरण दिँदै ठूलो भूकम्प पश्चात सोही स्थानमा पराकम्पन आउन सक्ने र त्यसले धेरै क्षति पुर्‍याउन सक्ने जोखिम रहेको बताए । मुख्य भूकम्प पश्चात सोही स्थानमा पराकम्पन आउने हुँदा सो सम्बन्धी जागरण बढाउने कार्यक्रम राखेर क्षति रोक्न सकिने उनको भनाइ थियो ।

उर्जा मन्त्रालयका पूर्व सहसचिव इन्जिनियर मोती बहादुर कुँवरले जाजरकोटमा गएको भूकम्प पश्चात आएको पराकम्पनले ५० हजार भन्दा बढी घरमा क्षति पुगिसकेको हुँदा यस तर्फ ध्यान दिन जरुरी रहेको बताए ।


जोखिममा रहेका समुदायको जीवन रक्षामा जोड

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक प्रशासन तथा योजना मन्त्री वेदराज सिंहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा रहेका सुत्केरी, नवजात शिशु, वृद्ध वृद्ध लगायत जोखिममा रहेका समुदायको जीवन रक्षा गर्न तीनै तहका सरकारले उच्च प्राथमिकता दिएको बताए । अहिले चिसो बढ्दै गएकाले जेष्ठ नागरिक, सुत्केरी  र बालबालिकालाई जोगाउन अप्ठेरो परेको उनले स्वीकार गरे । “न्यानो कपडा वितरण, घुम्ती स्वास्थ्य शिविर तथा अस्थायी टहरा निर्माण गरी जोखिममा रहेका जनताको ज्यान जोगाउन प्रदेश सरकारले सबै प्रयासहरु जारी राखेको पनि छ,” मन्त्री सिंहले भने । 

जाजरकोट जिल्लाको आफ्नै गाउँ भूकम्पको केन्द्र भएको बताउंदै उनले उद्धार तथा राहत वितरणमा संलग्न सबैलाई धन्यवाद दिए । “सरकार पुन: निर्माणको काममा समेत लागेको छ। आवश्यक श्रोत साधनका लागि संघीय सरकार, दातृ संस्था तथा प्राविधिक परामर्शका लागि स्वदेश र विदेशमा रहेका विज्ञहरुको सहयोग हामीले अपेक्षा गरेका छौं,” मन्त्री सिंहले भने । 

कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले सेमिनारमा प्रस्तुत विषयहरूलाई समेटेर थप छलफल तथा कार्यान्वयनका लागि एक प्रतिवेदन तयार गर्ने तथा आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए । 

उक्त कार्यक्रम जय नेपाल इन्टरनेशनल फाउन्डेशनका डा. नीरज श्रेष्ठले संचालन गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू