अक्सफोर्ड विश्वविद्यालयद्वारा प्राध्यापक सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार घोषणा



प्रा. सुवेदी
लण्डन। अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ।
घोषणा अनुसार यो वर्षको पुरस्कार डा. जेसन ब्रिकहीललाई ‘दक्षिण अफ्रीकाको न्याय सम्पादनमा रणनीतिक मुद्दाहरूको भूमिका’ भन्ने विषयमा केन्द्रित उनको विद्यावारिधि शोधग्रन्थका लागि प्रदान गरिएको हो ।
डा. ब्रिकहीलको उक्त शोधग्रन्थ यो बर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायको सर्वोत्कृष्ट शोधग्रन्थमा छनौट भएको थियो।
अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि गरेका प्रा. सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो र सन् २०२० मा प्रा. सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो।
प्रा. सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक र बेलायतका ब्यारिष्टर तथा केसी हुन्। उनले अन्तरराष्ट्रिय कानूनका प्राय: सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् ।
प्रा सुवेदीका १२ ग्रन्थमध्ये अंग्रेजीमा लेखिएको ‘पूर्वीय सभ्यतामा मानवअधिकार’ भन्ने ग्रन्थ बेलायतको एक प्रसिद्ध प्रकाशन गृहले प्रकाशन गरेको छ।
उक्त ग्रन्थ हालै एक समारोहबीच लन्डनस्थित भारतीय दूतावासको नेहरु सेन्टरमा विमोचन गरिएको थियो। उनका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भइ प्रकाशन भएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५