बेलायतकी स्रष्टा केसीको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण


काठमाडौं । बेलायत निवासी मुक्तककार प्रतिमा केसी ‘प्रवासी’ को मुक्तक संग्रह ‘प्रवासी मन’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक समारोहबीच मंगलबार ‘प्रवासी मन’ लोकार्पण गरिएको हो ।
प्रज्ञा भवनको लेखनाथ कक्षमा खचाखच भरिएका साहित्यकार तथा आफन्तजनहरुबीच आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनले कृति लोकार्पण गरेकी थिइन् ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतले प्रकाशन गरेको उक्त कृतिमा केसीले करिव एक दशकको अवधिमा सिर्जना गरेका उनका प्रकाशित तथा अप्रकाशित गरी जम्मा १ हजार ११२ मुक्तक अटाएका छन्।
विमोचन कार्यक्रममा प्रमुख अतिथि शेरचनले यो कृति मुक्तकको एउटा महाग्रन्थ भएको र यसका सर्जक नेपाली भावना बोकेकी एउटा सशक्त डायस्पोरिक नारी हस्ताक्षर भएको बताइन्। बेलायतमा बसोबास गर्ने साहित्यकार केसीले नेपाली मुक्तक साहित्यमा बेजोड कृति पस्केर एउटा फरक पहिचान स्थापित गरेको समेत चर्चा उनले गरिन्।
नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार तथा प्रवासी मन कृतिको भूमिका लेखक डा. रुपक श्रेष्ठले मुक्तककार प्रतिमा केसी ‘प्रवासी’ को व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै यसमा संग्रहित सबै मुक्तक आफूले पढेको र ती अत्यन्तै स्तरीय र पठनीय रहेको बताए ।
हजारौं मुक्तक प्रतिमासंग संचित रहेको तर अंग्रेजीमा आफ्नो जन्म गते र महिनालाई (११ डिसेम्बर) बुझाउने सांकेतिक अर्थमा १ हजार ११२ मुक्तक समावेश गरेको खुलासा पनि श्रेष्ठले गरे।
साहित्यकार तथा समीक्षक ज्ञानु अधिकारीले कृतिको विस्तृत परिचर्चा गर्दै नाम प्रवासी मन राखिएपनि यसले घर देशको राजनीतिक अवस्था, सामाजिक चेतना, नारीका वेदना, परदेश रहँदा घरदेशको सम्झना, गाउँघरको सम्झना, अध्यात्म चेत, सिंगो जीवन र जगतको विषय बोलेको एउटा संग्रहनीय कृति रहेको चर्चा गरिन्।
उक्त कृतिका सर्जक प्रतिमाले परिवारजनको हौसला, मुक्तक प्रेमीहरुको साहित्यिक संगत र आफ्नो निरन्तरको लगावले आफ्नो दोश्रो साहित्यिक सन्तानको जन्म सम्भव भएको बताइन्। उनले सो अवसरमा विमोचित आफ्नो कृतिबाट करिव केही मार्मिक र रसिला मुक्तक वाचन गरिन् । उनले आयोजक, भूमिका लेखक, शुभकामना लेखक, अग्रज साहित्यिकारहरू र उपस्थित आफन्तजनलाई समेत धन्यवाद दिइन्।
शुभकामना मन्तव्य राख्दै वरिष्ठ साहित्यकार रमेश पौडेलले यस कृति सम्पादन गर्ने क्रममा सम्पूर्ण मुक्तक आफूले पढेको र यसले पोखरा घोषणालाई आत्मसात् गरेको बताए। जसरी एउटा सफल पुरुषको सफलतामा नारीको ठूलो भूमिका हुन्छ, त्यस्तै यो कृतिले पुस्तकाकार पाउनुमा प्रतिमा प्रवासीको जीवनसाथी कुमार केसीको ठूलो भूमिका रहेको समेत बताए।
प्रतिष्ठानका पूर्व महासचिव समेत रहेका पौडेलले नेपाल मुक्तक प्रतिष्ठान अब सानो गोरेटोबाट राजमार्ग भइसकेकाले यसमा हजारौ मुक्तककारले यात्रा गर्ने तर मुक्तक लेखनको गुणस्तरबारे निकै सचेत हुनुपर्ने बताए।
त्यसैगरी, कार्यक्रममा हातेमालो संगमका अध्यक्ष सुनिल अधिकारीले विमोचित कृतिका केही थान मुक्तक वाचन गर्दै कृतिले नेपाली मुक्तकको क्षेत्रमा सुनौलो आयाम थप्ने आशा व्यक्त गरे ।
कार्यक्रमको अन्तमा अध्यक्ष रामकाजी कोनेले ‘प्रवासी मन’ को संक्षिप्त चर्चा गर्दै कृति सफलताको बधाई तथा शुभकामना दिए ।
उनले नेपाल मुक्तक प्रतिष्ठान र सर्जकको निमन्त्रणामा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद पनि ज्ञापन गरेका थिए।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव यादव भट्टराईले सञ्चालन गरेका थिए । सो अवसरमा प्रतिष्ठानका सल्लाहकार राधेश्याम लेकालीले स्वागत मन्तव्य दिएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५