शुक्रबार, पुष २६, २०८१
16:26 | २२:११

भारतले क्यानडेली नागरिकलाई भिसा दिन सुरु

एजेन्सी नोभेम्बर २२, २०२३

नयाँ दिल्ली । भारतले क्यानडेली नागरिकका लागि बन्द गरेको भिसा सेवा सुचारु गरेको छ । सेप्टेम्बरमा क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडोले जुन १८ मा खलिस्तानी पृथकतावादी हरदीप सिंघ निज्जरको हत्या मामिलामा भारत सरकारको भूमिका रहेको आरोप लगाएपछि क्यानडा र भारतबिचको सम्बन्ध निकै चिसिएको थियो ।

तनाव बढ्दै गर्दा कूटनीतिक सम्बन्ध समेत चौपट भएको थियो भने भारतले क्यानडेली नागरिकका लागि भिसा दिनै बन्द गरेको थियो । तर अब भने क्यानडेलीहरुलाई ई–भिसा दिन थालिएको छ । सन् २०२० मा भारतले निज्जरलाई आतंकवादी घोषित गरेको थियो ।

उनको हत्यामा आफ्नो हात रहेको ट्रुडोको आरोपलाई भारत सरकारले वाहियात र कपोकल्पित बतायो । सेप्टेम्बरमा ट्रुडोको आरोपलगत्तै भारतले क्यानडेलीहरुलाई भिसा जारी नै ठप्प पारेको थियो । गएको महिना भारतले क्यानडामा केही भिसा सेवा सुचारु गर्‍यो ।

भारतको यस कदमले दुई देशबीचको सम्बन्धमा केही सुधार आउने आशा पलाएको छ । तर दुवै पक्ष सामान्य स्तरमा नफर्केकोले यसलाई ब्रेक थ्रु चाँहि मान्न नहुने दुवै देशका अधिकारी र विज्ञहरुले बताइरहेका छन् । निज्जर हत्या मामिलापछि क्यानडाले ओट्टावामा रहेको भारतीय गुप्तचर अधिकारीलाई देश निकाला गरेको थियो ।

सोको प्रतिकारमा भारतले पनि क्यानडेलीहरूलाई दिँदै आएको १३ प्रकारका भिसा जारी बन्द गरेर भारतमा क्यानडाको कूटनीतिक उपस्थितिलाई खुम्च्याएको थियो ।

भारतले अक्टोबर २५ देखि चार श्रेणीमा भिसा जारी सुचारु गरेको थियो । तर यसलाई दुई देशबिच चिसिएको सम्बन्ध पग्लिन थालेको संकेतका रुपमा हेर्न नहुने भारतको विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन् । भारतको पञ्जाबपछि सबैभन्दा धेरै शिखहरु क्यानडामा बस्छन् ।

अहिलेसम्म क्यानडाका लागि भारत विदेशी विद्यार्थीको सबैभन्दा ठूलो स्रोत हो । त्यहाँका कूल मध्ये ४० प्रतिशत विद्यार्थी भारतीय छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू