बीबीसीको प्रभावशाली ‘१०० महिला’ सूचीमा परिन् नेपालकी रुक्सना
काठमाडौँ — बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्सना पनि परेकी हुन् ।
बीबीसीले सोमबार सूची जारी गर्दै रुक्सनाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ ।
एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्सना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ । यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ ।
यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत छन् ।
यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि छन् । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ सुरु हुनुअघि यो सूची सार्वजनिक हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो । सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । –इकान्तिपुर
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५