बिहीबार, पुष २५, २०८१
14:18 | २०:०३

अमेरिका बस्ने संचारकर्मी ढकालका तीन कृति लण्डनमा विमोचित

नेपाली लिङ्क नोभेम्बर २०, २०२३

लन्डन – अमेरिकालाई कार्यथलो बनाएका संचारकर्मी पुरुषोत्तम ढकालका तीन ओटा कृति लण्डनमा आयोजित एउटा समारोहमा सार्वजनिकीकरण गरिएको छ। 

आइतबार साउथ ह्यारोमा आयोजित एक कार्यक्रममा ढकालका कविता संग्रह ‘भगवानलाई प्रश्न’, अंग्रेजी कविता संग्रह बर्डर लेस ड्रिम्स र उनको रचनामा बनाइएको ‘मन मनमा नेपालीको’ म्यूजिक भिडियो लोकार्पण गरिएको हो ।

कार्यक्रममा ढकालका कविता संग्रह ‘भगवानलाई प्रश्न’ एनआरएनएका उपाध्यक्ष राम शरण सिम्खडा, सोलिसिटर राजु थापा, उद्यमी विजय थापा, कृष्ण भट्ट तथा पत्रकार भगीरथ योगीले संयुक्त रुपमा विमोचन गरे भने ‘बर्डर लेस ड्रिम्स’ कविता संग्रह पूर्व उपमेयर लक्ष गुरुङ, यति एसोसिएशन यूकेका पूर्व अध्यक्ष ध्रुब केसी र समाजसेवी चिरन्जीवी ढकालले विमोचन गरे ।

त्यस्तै ‘मन मनमा नेपाल’ भन्ने गीति भिडियोको लोकार्पण नेपाली साहित्य विकास परिषद यूकेका पूर्व अध्यक्ष हरिसिंह थापाले गरेका थिए।

कार्यक्रममा बोल्दै लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर लक्ष्य गुरुङले पत्रकार ढकाल एक ‘ग्लोबल सिटिजन’ भएको बताए। पत्रकारिता र लेखनबाहेक ढकालले अमेरिकाको लस एन्जलसमा रिपब्लिकन पार्टीबाट प्राइमरी चुनाव जितेको बताउंदै उनले शुभकामना पनि दिए । 

गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडाले विद्रोही चेत भएका व्यक्तित्व नै साहित्यकार हुने बताए। ढकालको ‘इश्वरलाई चड्कन’ भन्ने कविता उद्धृत गर्दै उनले यत्तिको चेत भएको सर्जक आफूले कमै देखेको जनाए । 

पत्रकार भगीरथ योगीले कवि ढकालले आफ्नो सिर्जना मार्फत समाजमा व्याप्त विभेद र अन्यायको विरोध गरेको बताए।  खासगरी पहिलो पुस्ताका नेपाली आप्रवासीहरुले प्रवासमा निकै संघर्ष गर्नुपरेको र त्यस्तो संघर्षको कथाव्यथा ढकालका कविताहरुमा अभिव्यक्त भएको उनले जनाए। 

उनले अंग्रेजी भाषामा प्रकशित पुस्तकमार्फत नेपाली समुदायका संघर्षका गाथा विदेशी समुदायका साथै प्रवासी नेपालीकै दोश्रो पुस्तासम्म पनि पुग्ने अपेक्षा व्यक्त गरे। 

कवि तथा पत्रकार ढकालले नेपाल टेलिभिजन, च्यानल नेपाल, नेपाली टीभी यूके लगायत मिडियामार्फत नेपाली समुदायको सेवा गरेको स्मरण गरे।


भूपू गोर्खा तथा बेलायतस्थित नेपाली समुदायको समाचार संकलन र सम्प्रेषण गर्न आफू सधैं लालायित रहेको सम्झना गर्दै ढकालले भने, “मैले देखेको देश र समाजलाई मैले पुस्तकाकारको रुपमा प्रकाशन गरेको हुँ ।” 

उनले भारत र चीनले आफ्ना डायस्पोरासंग रहेको बौद्धिक र आर्थिक श्रोत मुलुकको विकासमा लगाएको तर नेपालको नेतृत्वसंग त्यस्तो ‘भिजन’ नभएको भन्दै दुख व्यक्त गरे। 

उनले प्रवासमा बस्ने नेपालीहरुलाई सम्बन्धित मुलुकको राजनीतिक मूलधारमा सक्रिय हुन र युवा पुस्तालाई त्यहींको राजनीतिसंग जोड्न सुझाव पनि दिए।

एनआरएनएका संस्थापक सचिव तथा समारोहका सभापति चिरन्जीवी ढकालले पत्रकार पुरुषोत्तम ढकालले बेलायतको नेपाली समाजको लागि पुराएको योगदानप्रति धन्यवाद दिए । उनले एनआरएनए अभियानमा सक्रिय रहन उनलाई शुभकामना पनि दिए। 

कार्यक्रममा नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौलाले स्वागत मन्तव्य तथा कृष्ण भट्टले धन्यवाद ज्ञापन गरेका थिए। तस्बिर-शिव भण्डारी

ढकालद्वारा रचना गरिएको गीतको म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू