सोमबार, पुष १५, २०८१
16:59 | २२:४४

भगवत, भागवत तथा भक्ति स्वरुप

डा. कृष्ण उपाध्याय नोभेम्बर १८, २०२३

भगवत स्वरुप:

१. मङ्गलाचरण
प्रथम स्कन्द, प्रथम अध्याय

पृष्ठभूमि:
मंगलाचरण श्रीमद्भागावतको प्रथम स्कन्धको प्रथम अध्यायको प्रथम श्लोक हो । विद्वान टिकाकार र आचार्यहरुले यस श्लोकबारे गहिरो विश्लेषण गर्नु भएको छ। यसमा सवैको एक मत देखिने पक्ष के हो भने ‘जन्माद्यस्य यत’ र ‘धिमही’ वेद/उपनिषद् निसृत शब्दहरुले श्रीमद भागवत आफैमा वेदको सरल उदाहरण युक्त सार हो भन्ने पुस्टि गर्दछ। ‘अथातो ब्रह्म जिज्ञासा’ पछि आउने ‘जन्माद्यस्य’ ब्रम्हसुत्रको दोश्रो सुत्रहो । त्यसैगरि ‘धिमही’ गायत्री मन्त्रको अन्तिम शब्द हो, त्यसैले पनि यो वेद जनित छ भनिन्छ। भगवानको नाम उल्लेख नगरी महर्षि वेदव्यासले भगवानको सत्य स्वरुपको गुणानुवाद गर्नु भएको छ । वहाँ भन्नुहुन्छ:

जन्माद्यस्य यतोऽन्वयादितरतश्चार्थेष्वभिज्ञ: स्वराट्

तेने ब्रह्म हृदा य आदिकवये मुह्यन्ति यत्सूरय: ।

तेजोवारिमृदां यथा विनिमयो यत्र त्रिसर्गोऽमृषा

धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि ॥ १ ॥

भावार्थ: जो व्यक्त ब्रह्माण्डोंको उत्पत्ति, पालन तथा संहार आदि समस्त कारणहरुको आदि कारण हुनुहुन्छ, जो प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले सारा संसारको ज्ञान राख्नु हुन्छ, जो परम स्वतन्त्र हुनुहुन्छ (अर्थात् स्वशाषित हुनुहुन्छ, अथवा कसैबाट शासित हुनुहुन्न), जसले (संकल्प मात्रले सर्वप्रथम) ब्रह्माजीको लागि (वेदको) ज्ञान प्रकाशित गर्नु भयो, जसको कारण ठुल्ठुला मुनि तथा देवता मोहित (भ्रमित) हुन्छन जसरी अग्निमा जल जलमा थल देखेर मोहग्रस्त होइन्छ र सत्य जस्तो लाग्दछ त्यसरी नै जसको सत्यताको कारणले (यो प्रकृतिको तिन गुणको प्रतिक्रिया स्वरुप उत्पन्न) त्रिबिध सृष्टि सत्य जस्तो लाग्छ। जसको तेजले समस्त अन्धकार निरस्त (नाश) हुन्छ, म त्यो परम् सत्यको ध्यान गर्दछु।

संक्षिप्त व्याख्या:
‘सत्य’ भगवानको नाम-स्वरुप हो:

महर्षि वेदयास मंगलाचरणको माध्यमबाट परम ‘तत्व’को निरुपण गर्नु हुन्छ । परम ‘तत्व’ ‘सत्य’ को रुपमा प्रस्तुत गर्नु हुन्छ, वहाँले प्रस्तुत गर्नु भएको सत्य, ‘परम सत्य’ हो। वहाँ ‘परम सत्य’ को गुणानुवाद गर्नुहुन्छ। प्रमुख छ गुण युक्त त्यो ”परम सत्य’ अतुलनिय वीर्य हो जसबाट सृष्टि हुन्छ। त्यो ‘सत्य’ परम वल स्वरुप छ, परम शक्ति स्वरुप छ, त्यसैबाट जगतको पालन हुन्छ र नास हुन्छ। स्वयम् शासित र स्वतन्त्र (स्वराट) छ त्यसैले अतिशय ऐश्वर्ययुक्त छ। त्यो अतिसय तेजोमय छ त्यसैले जगतमा प्रकाश हुन्छ । त्यो ‘सत्य’ प्रकाश नै अज्ञान र कल्मष निस्तेज गर्ने अतिशय ज्ञानको श्रोत हो जहाँ सृष्टिको पहिलो जीव ब्रह्माजीमा ज्ञानको संचार हुन्छ। त्यो अद्वितीय ज्ञान (यज्ज्ञानमद्वयम्) लाई ‘तत्व’को रुपमा निरुपण गरिएको छ श्रीमद्भागवतमा:

वदन्ति तत्तत्त्वविदः तत्त्वं यज्ज्ञानमद्वयम् ।

ब्रह्मेति परमात्मेति भगवानिति शब्द्यते ॥ (१:२:११ )

त्यो परम तत्व लाइ भगवान भनिएको छ, ब्रह्म भनिएको छ, परमात्मा भनिएको छ।

त्यसैले त्यो ‘सत्य’ भगवान, ब्रह्म, परमात्मा हो जसको गुणानुवाद भएको छ। मंगलाचरणमा वर्णित कर्मबाट पनि भगवान, ब्रह्म, परमात्माको बोध गराउछ। मंगलाचरणमा वर्णित कर्म विष्णु पुराणमा भगवानका कर्मको रुपमा व्याख्या गरिएको छ:

उत्पत्तिं प्रलयं चैव भूतानामागतिं गतिम् |
वेत्तिं विद्यामविद्यां च स वाच्यो भगवानिति || (विष्णु पुराण, ६:५:७८)

अर्थात्, जसले उत्पति र प्रलय, प्राणिको गति अगति, र ज्ञान र अज्ञान बुझाउंदछ त्यसैलाई भगवानको संज्ञा दिइन्छ।
विष्णु पुराणमै मुख्य गुणको वर्णन गर्दै भनिएको छ, हेय गुण बाहेक, ज्ञान, शक्ति, बल, ऐश्वर्य, वीर्य र तेज आदि सद्गुण हरुनै ‘भगवत’ शब्दको वाच्य हो। यथा:

ज्ञानाशक्तिबलैश्वर्यविर्यतेजांस्यशेषत:
भगवद्छब्दवाच्यानि विना हेयेर्गुणादिभि: (६/५/७९)

भगवान निर्विकार, अद्वितीय, सगुण र साकार हुनुहुन्छ:

माथिको यो श्लोकमा भए जस्तै, हेय गुणको अनुपस्तिथि वेदको निर्गुण वादिनी ऋचाहरुको व्याख्याको रुपमा भगवतपाद रामानुज लगायत पुर्वाचार्यहरु प्रस्ट्याउनु हुन्छ। स्मरण रहोस वेदमा सगुण र निर्गुण वादिनी दुवै खाले ऋचाहरु छन्।

भगवदपाद श्रीरामानुजाचार्यले शरणागति गद्यमा भगवानका अतिशय ज्ञान, अतिशय ऐश्वर्य, अतिशय वल, अतिशय वीर्य, अतिशय शक्ति, अतिशय तेज आदि प्रमुख छ गुण बाहेक अरु धेरै कल्याणकारी गुणको वर्णन गर्नु भएको छ। यस्ता गुणहरु श्रीमद्भागवत सहित अन्य शास्त्रहरुमा वर्णित छन्। उल्लेख्य के हो भने अनन्त कल्याणकारी गुण भएका ब्रह्म हेय प्रकृतिका गुणबाट बिमुक्त छन् (हेर्नुस माथिको श्लोक विष्णु पुराण, ६/५/७९) )। त्यस्ता हेय प्रकृतिका गुण प्राकृत देहमा मात्र हुन्छ। जन्म, जरा, मृत्यु आदि प्राकृत शरीरका गुण हुन्, भगवानमा यस्ता गुण नहुनु नै निर्गुणको अर्थमा लिईन्छ। ब्रह्म यी लगायत अन्य प्रकारका विकार गुणयुक्त हुनुहुन्न, त्यसैले निर्विकार (शुद्द, विमल, र शोक रहित आदि) हुनुहुन्छ। त्यसैले सही अर्थमा, धेरै कल्याणकारी गुण भएका भगवान सगुण मात्र हुनुहुन्छ, अनन्त गुणका खानी हुनुहुन्छ। भगवान सवै कल्याणकारी गुणको परिचायक हो, त्यसैले गुण सम्पन्न हुनुहुन्छ।

मंगलाचरणमा वेद ब्यासजीले नाम नलिए पनि गुणानुवादबाट परम्ब्रह्मलाई इंगित गर्नु भएको छ, विष्णु पुराणमा ब्यास पिता महर्षि पराशरजीले परम्ब्रह्मवारे स्पस्ट पार्नु भएको छ:
… परमब्रह्मभूतस्य वासुदेवस्य नान्यगः ॥ ७६ ॥

(परम ब्रह्म वासुदेव बाहेक अरु कोही भगवान छैन)

परम ब्रह्म एक हुनुहुन्छ। महर्षि व्यास तिनै एक परम ब्रह्मलाई सत्य स्वरुपमा ध्यान गर्नु हुन्छ: सत्यं परं धीमहि ।
त्यो सत्य नित्य छ, सृष्टि भन्दा अगाडी पनि थियो, र अहिले पनि छ, र अन्तमा पनि रहने छ। श्रीमद्भागवत मै भगवानले (चतुश्लोकी भागवतमा) ब्रहामाजीलाई उपदेश दिएको प्रसंग आउँछ। भगवानले ब्रहामाजीलाई बुझाउनु हुन्छ:

सृष्टि पुर्व म मात्र थिए। सत, असत वा अन्य कुनै म भन्दा भिन्न थिएन। सृष्टी नहुदा (प्रलयकालमा ) मा पनि म नै रहन्छु। यो सवै सृष्टीरूप पनि मै नै हुँ र यो सृष्टी, स्थिति तथा प्रलय बाट जे बाँकी रहन्छ त्यो पनि म नै हो। यथा:

अहमेवासमेवाग्रे नान्यद यत् सदसत परम।
पश्चादहं यदेतच्च योSवशिष्येत सोSस्म्यहम ।।(३:९:३३ )
छान्दोग्योपनिषदले पनि त्यहि उद्घोष गर्छ:
हे सौम्य, यो जगत भन्दा पहिले पनि त्यहाँ एउटा मात्र अस्तित्वमा थियो, कुनै दोश्रो थिएन। यथा:

सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्। (६.२.१)

महाभारत, रामायण जस्ता इतिहास र पुराणहरुले वेद उपनिषद्ले परिभाषित गरेको ब्रह्म एक हुनुको सारलाई बुझाएका छन्। छान्दोग्योपनिषदले नै त्यै एक ब्रह्मले धेरै स्वरुप धारण गर्ने गरेको पनि प्रस्ट्याउछ:

तदैक्षत वहुस्याम्…. ॥ ६.२.३ ॥
(भावार्थ: ति परमात्मा ले एक बाट अनेक हुने इच्छा गरे)

यसरि एक वाट अनेक स्वरुप लिएकोले धेरै स्वरुपमा देखिने मात्र हो, त्यो परम तत्व एक हुनुहुन्छ। आचार्य श्रीचरण हरुले शास्त्रको यो सारलाइ अझ सुगम संग बुझाउनु भएको छ। भगवदपाद स्वामी श्री लोकचार्य (१२०५-१३११ सन् ) द्वारा रचित “अर्थपंचक” ले यसलाई सरल भावले अर्थ्याएको छ। यसले भगवानका पाचँ स्वरुपको बर्णन गर्छ। भगवानको पर स्वरुप (‘बासुदेव’), ब्यूह स्वरुप (वासुदेव, संकर्षण, प्रद्युम्न, अनिरुद्ध), र अवतार स्वरुप राम, कृष्ण आदि, अर्चा स्वरुप (प्रतिष्ठित र स्वयम्भुव भगवानका बिग्रह आदि), र अन्तर्यामी स्वरुप बासुदेवको व्याख्या छ।

अर्थपंचकको व्याख्या यहाँ गरिएको छैन, तर ग्रन्थमा अन्य विषयको छलफलको क्रममा फेरी यसको वारेमा चर्चा गरिने छ। अहिलेको प्रसंग, भगवानका स्वरुपको बारेमा भन्नै पर्ने के हो भने भगवानका कुनै पनि स्वरुपको उपासना आराधना श्रवण किर्तन त्यही सत्य स्वरुपको भगवानको उपासना हुन्छ। महर्षि वेदव्यास हामीलाई त्यहि बुझाउनु हुन्छ। श्रीमद्भागवतको कथा गङ्गा प्रवाहित गर्दा स्तुतिहरुमा भगवानका यी विविध स्वरुपहरुको वर्णन गरिएको छ। श्रीमद्भागवतको शुरुतिरै महर्षि वेदव्यासको नारद्जीसंगको सत्संगको प्रसंगमा आउछ, त्यहाँ नारदले भगवानका व्युह स्वरुपको ध्यान गर्ने उपदेश गर्नु हुन्छ:

ॐ नमो भगवते तुभ्यं वासुदेवाय धीमहि ।

प्रद्युम्नायानिरुद्धाय नम: सङ्कर्षणाय च ॥ (श्रीमद्भागवत, १:५:३७)

अक्रुरजीको प्रार्थनाहरुमा पर, ब्यूह, अवतार, अन्तर्यामी आदि स्वरुपको प्रार्थना छ, अद्वितीय ब्रह्मले कार्यवश विविध गुण लिएर प्रकट हुने (विष्णु, शिव, ब्रह्मा आदि जस्ता) विविध स्वरुपकोबीचमा तत्वत: भेद छैन भन्ने उपदेश पनि छ।

महर्षि वेदव्यासजीले प्रार्थना गरेको त्यो सत्य स्वरुप ब्रह्म सगुण मात्र होइन (यसको चर्चा माथि नै गरियो), सत्य स्वरुप ब्रह्म साकार पनि हुनुहुन्छ। नाम नलिदा निराकार हुने होइन। श्रीमद्भागवतमै यो प्रस्ट देखिन्छ। यसको पनि संक्षेप चर्चा गरौँ।

मंगलाचरणमा सत्य स्वरुपको ध्यान छ, मध्यममा देवताहरुले गरेको प्रार्थना पनि सत्य स्वरुपमा छ। र अन्तिममा गरिएको प्रार्थना पनि सत्य स्वरुपको लागि गरिएको छ। अन्तिममा गरिएको प्रार्थना हेरौं:

कस्मै येन विभासितोऽयमतुलो ज्ञानप्रदीप: पुरा
तद्रूपेण च नारदाय मुनये कृष्णाय तद्रूपिणा ।
योगीन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यत-
स्तच्छुद्धं विमलं विशोकममृतं सत्यं परं धीमहि (१२:१३:१९ )

(भावार्थ: म शुद्ध विमल शोकरहित सत्य स्वरुप ब्रह्मको ध्यान गर्दछु जसले प्रारम्भमा यो अतुलनीय ज्ञान ब्रह्माजीलाई दिनुभयो, त्यै रुपमा ब्रह्माजीले नारद्जीलाई दिनु भयो, नारद्जिले (कृष्ण) वेदव्यासजीलाई दिनु भयो, व्यासजिले शुकदेवलाई दिनु भयो र कृपा स्वरुप शुकदेवजीले परिक्षित (भगवतरात, विष्णुरात) लाई सुनाउनु भयो।)

श्रीमद्भागवतका ब्रह्माजी द्वारा गरिएका स्तुतिहरुवाटनै प्रस्ट हुन्छ भगवानले वहाँलाइ प्रत्यक्ष दर्शन दिएर मात्र सृष्टिको निम्ति उपदेश र भागवत ज्ञान प्रदान गर्नु भएको थियो (हेर्नुस, ३:९:१०-१४) अर्थात् वहाँले साकार स्वरुप ब्रह्मको दर्शन गर्नु भएको थियो।

अन्तमा गरिएको श्लोक (१२:१३:१९)को व्याख्या गर्दा केहि विद्वानवरेण्य हरु ‘तद्रूपेण’ लाई पनि ब्याख्या गर्नु हुन्छ: भगवान स्वयमले ब्रह्माजी, नारदजी, वेदव्यासजी, शुकदेवजीको स्वरुपमा ज्ञान दिनु भएको छ। त्यसो हुदाँ त झनै साकार रुपकै वर्णन भयो।

अव श्रीमद्भागवतको मध्यमा गरिएको प्रार्थना हेरौं:

सत्यव्रतं सत्यपरं त्रिसत्यं सत्यस्य योनिं निहितं च सत्ये।
सत्यस्य सत्यमृतसत्यनेत्रं सत्यात्मकं त्वां शरणं प्रपन्नाः (१०:२:२६)

(भावार्थ: हजुर सत्य संकल्प (सत्यव्रत) हुनुहुन्छ, परम सत्य हुनुहुन्छ, तिनै कालको सत्य हुनुहुन्छ (सृष्टि, स्तिथि, र लय को अवस्थामा), सत्यको योनि हुनुहुन्छ अर्थात् सवै सत्यको मुलश्रोत हुनुहुन्छ, सत्यको सत्य अर्थात् सवैको सार हुनुहुन्छ, र सत्यलाई देख्न सक्ने आँखा पनि हुनुहुन्छ, त्यसले हे सत्य आत्मन, हामी हजुरको शरणागत छौं।)

यो प्रार्थना त प्रस्टै साकार स्वरुपको प्रार्थना हो, किनभने यो स्तुति जन्मिने बेलाका गर्भस्थ भगवान कृष्णलाई गरिएको स्तुति हो। त्यहाँ पनि भगवानको सत्य स्वरुपकै स्तुति छ। त्यसको अर्थ सत्य स्वरुप साकार छ।

यस अर्थले सत्य स्वरुपलाई गरिएको मंगलाचरण पनि साकार स्वरुप भगवानकै स्तुति हो अर्थात् श्रीमद्भागवतमा सत्य स्वरुप भगवानलाई गरिएको तिनवटै स्तुति साकार ब्रह्मको स्तुति हो।

त्यसैले सत्य नाम-स्वरुप पनि साकार र सगुण छ। यसर्थ, भगवानको नाम स्वरुप बर्णन नभए पनि सवै नाम, सवै स्वरुप, सवै लीला अथवा कुनै एउटा नाम, कुनै एउटा स्वरुप, कुनै एउटा लीला स्वरुपमा रहेको परब्रह्मको ध्यान हो यो मंगलाचरण।

यस्तै साकार सगुण ब्रह्मका उपासक थिए गोपीहरु। उनीहरुको भक्ति भिन्न प्रकार र भावको थियो, जसलाई ‘गोपीभाव’ भन्दा हुन्छ। तेश्रो खण्डमा (खण्ड २: भगवत भक्ति: प्राप्य स्वरुप, पछि) गोपीहरुले गरेका स्तुतिहरुको चर्चा छ।

भागवत-भक्ति स्वरुप:
यस अघि मंगलाचरणको चर्चा गर्दा सत्य भगवानकै नाम स्वरुप भनियो, भगवान मुख्य षठ गुण र अगणित कल्याणकारी गुण युक्त हुनुहुन्छ, हेय गुणवाट विमुक्त हुनु हुन्छ र साकार स्वरुपमै दर्शन दिनु हुन्छ र गोपीहरु यस्तै साकार ब्रह्मका उपासक/भक्त/भागवत भएको पनि उल्लेख गरियो। भगवानको चर्चा पछि अव उपासना र उपासक अथवा भक्ति र भक्तको चर्चा गरिन्छ।

भागवत (भक्त) हरुको स्तुति हरुको चर्चा भनेको वहाँ हरुको भक्तिको चर्चा हुन्छ। त्यसैले यहाँ भक्ति के हो र त्यसले कसरि भागवत-स्वरूप र प्रकारको निर्धारण गर्दछ भन्ने चर्चा गरिएको छ। जसले जुन प्रकारको भक्ति अपनाउछ, उ त्यहि प्रकारको भक्त हुन्छ। त्यसैले मुलत: यो चर्चा भक्तिको चर्चा नै हो। यसले हामीलाई पछि पछिका स्तुतिहरु बुझन पनि सहज हुन्छ।

भक्तिका विविध रुप र भाव छन्।
भज् धातुबाट भक्ति भएको छ जसको अर्थ सेवा गर्नु हुन्छ। सरल अर्थमा भगवानको सेवा गर्नु नै भक्ति हो। शास्त्र र आचार्यहरुले यसलाई महनिय भावमा बुझाउनु भएको छ।
श्रीमद्भागवतमा भनिएको छ भक्ति भगवान प्रतिको एक सहज प्रवृति हो, र यो सिद्धि भन्दा पनि श्रेष्ठ छ:

…सत्त्व एवैकमनसो वृत्ति: स्वाभाविकी तु या ।
अनिमित्ता भागवती भक्ति: सिद्धेर्गरीयसी ॥ (श्रीमद्भागवत ३:२५:३२)

आसक्ति अनुरक्ति सहज प्रवृति हो मानिसको। कुनै सांसारिक बस्तुसंग मानिसको आसक्ति, अनुरक्ति भयो भने त्यो मोह हुन्छ, भगवानसंग त्यस्तो आसक्ति भयो भने त्यै भक्ति हुन्छ। विष्णु पुराणमा यही भावको महनिय वचन छ:

या प्रितिर्विवेकानां विषयेष्वनपायिनी।
त्वामनुस्मरत: सा मे हृदयान्मापसर्पतु।। (१:१०:१९)

(अविवेकी पुरुषको सांसारिक विषयहरु प्रति जुन/जस्तो प्रिती हुन्छ, त्यस्तै अनुरक्ति भगवान प्रति भयो भने त्यसलाई भक्ति भनिन्छ।)

त्यस्तै भाव ऋषि शाण्डिल्यको छ। ऋषि पनि इश्वरसंगको परम अनुरागलाई भक्ति भन्नु हुन्छ:

सा परानुराक्तिरीश्वरे। (शाण्डिल्य सुत्र, १:२)

नारदजी पनि शाण्डिल्य जस्तै, भक्ति इश्वरप्रतिको परम प्रेम रुप हो भन्नु हुन्छ:

सा तस्मिन परम प्रेम रुपा। (नारद भक्ति सुत्राणी:२)
सवै मानसिक र कार्मिक कर्म इश्वर प्रति समर्पण गर्नुलाई, पतंजली योगसुत्र अनुसार, ‘इश्वर प्रणिधानदा’ भनिन्छ (योगसुत्रम १:२२)।

व्यासजी त्यै प्रणिधान नै भक्तियुक्त हुन्छ भन्नु हुन्छ:
प्रणिधानात भक्ति विशेषात् (व्यास भास्यम, योग सुत्रम १:२३)

मन र कर्म इश्वरप्रति समर्पण भाव (भक्ति) लाई सनातन धर्मका आचार्यहरुले वहुतै मिठो भाव र शैलीमा बुझाउने कृपा गर्नु भएको छ। भगवदपाद आदि शंकराचार्य महनिय भाव, शैली र छन्दमा भक्ति बुझाउनु हुन्छ:

अङ्कोलं निजबीजसन्ततिरयस्कान्तोपलं सूचिका
साध्वी नैजविभुं लता क्षितिरुहं सिन्धुः सरिद्वल्लभम् ।
प्राप्नोतीह यथा तथा पशुपतेः पादारविन्दद्वयं
चेतोवृत्तिरुपेत्य तिष्ठति सदा सा भक्तिरित्युच्यते॥ (शिवानन्द लहरी, ६१)

(जसरि अन्कोल वृक्षको विज अन्कोल वृक्ष प्रति, सियो चुम्बकप्रति, एक साध्वी आपनो पतिप्रति, लहरा वृक्षप्रति, नदि सागरप्रति सहज भावले आकृष्ट भएर तन्मुखी हुन्छन्, त्यसै गरि भगवान (पशुपति) का युगल चरण प्राप्त गरेर त्यसैमा एकनिष्ठ भाव रहने चित्तवृत्तिलाई भक्ति भनिन्छ।)

स्मरण रहोस्, यहाँ शंकराचार्य भक्तिलाई चित्त वृत्तिको रुपमा सुझाउनु हुन्छ। अर्थात भक्ति भावसंग सम्बन्धित छ। त्यसैले यो उपासकको मनोविज्ञान पनि हो।
वैष्णव आचार्यहरुको गहिरा भावहरु पनि मनन योग्य छन्।

भगवदपाद रामानुजाचार्य स्नेहपूर्वक अनुध्यान गर्नुलाई भक्ति भन्ने आफ्ना गुरु यमुनाचार्यको गीतार्थ संग्रह नामक ग्रन्थको भाव आपनो गीताभाष्यम मा उधृत गर्नु हुन्छ:
स्नेहपूर्वमनुध्यानम भक्तिरित्युच्यते (गीताभाष्यम, ७:१)

भगवदपाद निम्बार्काचार्य दैन्य भाव भएको भक्तहरुमा मात्र भगवान भक्ति कृपा गर्नु हुन्छ भन्ने भाव उजागर गर्नु हुन्छ। वहाँ भन्नु हुन्छ:

कृपास्य दैन्यादियुजि प्रजायते यया भवेत्प्रेमविशेषलक्षणा।
भक्तिर्ह्यनन्याधिपतेर्महात्मनः साचोत्तमासाधनरूपिकाऽपरा ||​ (वेदान्त कामधेनु-दशश्लोकी: ९)

(भावार्थ: भगवानको कृपा दैन्यादि गुण भएका शरणागत भक्तहरुमा हुन्छ, भगवतकृपावाट हुने भक्ति उत्तम र प्रेमलक्षणा हुन्छ। त्यो नै साधन रुपी अपरा भक्ति हो ।)

भगवदपाद वल्लभाचार्य पनि भक्तिलाइ प्रेम (स्नेह) लाई मूल मान्नु हुन्छ:
स्नेहो भक्तिरिति प्रोक्त: तया मुक्तिर्न चान्यथा || (तत्त्वार्थदिप)

(भावार्थ: स्नेहातिरेक् नै भक्ति हो, भक्तिबाट मात्र मुक्ति हुन्छ, अन्यबाट हुदैन)

मध्व/गौडिय सम्प्रदायका आचार्य भगवदपाद रुपगोस्वामी अरु कुनै बिषयमा अभिलाषा नराखी, आनुकुल्य भावले भगवान (कृष्ण) को निरन्तर अनुशीलन गर्नु नै उत्तम भक्ति हो भन्नु हुन्छ:

अन्याभिलाषिताशून्यं ज्ञानकर्माध्यनावृतम् ।
आनुकूल्येन कृष्णानुशिलनं भक्तिरुत्तमा ॥ (भक्तिरसामृतसिन्धु १:११)

अद्वैतमतका परम विद्वान तथा भक्ति रसायन नामक ग्रन्थका ग्रन्थकार मधुसुदन सरस्वती, भगवद-धर्मको निरन्तर सेवन (श्रवणआदि) बाट द्रविभूत र धारावाहिकतामा पुगेको मनोवृति नै भक्ति हो भन्नुहुन्छ:

द्रुतस्य भगवद्धर्माद्धारावाहिकतां गता ।
सर्वेशे मनसो वृत्तिर्भक्तिरित्यभिधीयते ॥ (भक्ति रसायन १:३)

सारमा, ऋषि-आचार्यगणले हामीलाई कृपा पूर्वक बताउनु भएको भक्ति भनेको भगवान प्रतिको हाम्रो प्रेम हो, त्यो चित्तवृत्ति हो, अन्तर्मनबाट गरिने स्मरण र अनुध्यान हो, त्यसैले पनि भक्ति मुख्यरुपले: प्रेम लक्षणा हुन्छ (यसमा दास्य, सख्य, शान्त, र माधुर्य भाव हुन्छ, तर अघिल्ला तिन भाव माधुर्य अथवा प्रेममा नै प्रकट हुन्छ।), अभिलाषा नराखी गरिने अतिव प्रेमपुर्णहुन्छ (स्नेहातिरेक) हुन्छ। अपरा र अहैतुकी हुन्छ, यो भगवानको अनुकुलतामा गरिन्छ (जे भगवानलाई रुचिकर र राम्रो लाग्छ त्यै गरिन्छ), यो यस्तो प्रेमको मनोवृति हो जो तेलधारा जस्तै अटुट हुन्छ, धाराबाहिक हुन्छ किनकि यो आज गर्ने भोलि छोड्ने, अथवा मन लागेका बेला वा भ्याएको बेलामा मात्र गर्ने भावमा हुदैन।

भगवानका भक्तहरु अभिमानरहित हुन्छन, किनभने अभिमान भगवान प्राप्तिको बाधक हो। (फेरि अर्थ पंचक स्मरण गरौँ, भगवत प्राप्तिका वाधक तत्वहरुलाई ध्यान दिऊ। स्व-स्वरुप नबुझ्नु र देहाभिमान हुनु आफैंमा भगवत प्राप्तिको बाधक तत्व पनि हो।)

अभिमान फरक फरक रुपमा प्रकट हुन् सक्छन्, यथा:
जाति विद्या महत्वम च
रुप यौवन मेव च
यत्नेन परित्यज्या
पञ्चै ते भक्ति कण्टक
(अर्थात, भक्तिका पाँच कण्टक (वाधक) रूपी आफ्नो जात, विद्या, पद-प्रतिष्ठा, रूप यौवन आदिको घमण्ड् यत्न पूर्वक परित्याग गर्नु पर्दछ।)
यस्तो अभिमानवाट मुक्त हुन शुद्ध भक्त भाव हुनु पर्दछ, जुन भावको बारेमा मध्व (गौडिय सम्प्रदाय) का आचार्य भगवदपाद श्रीचैतन्य महाप्रभु भन्नु हुन्छ:

नाहं विप्रो न च नरपतिर्नापि वैश्यो न शूद्रो
नाहं वर्णी न च गृह-पतिर नो वनस्थो यतिर्वा
किन्तु प्रोद्यान-निखिल-परमानन्द-पूर्णामृताब्धेर
गोपिभर्तुर पद-कमलयोर दास-दासानुदासः (चैतन्य चरितामृत, मध्य, १३:८०)

(न म ब्राह्मण हूँ, न क्षत्रिय, न वैश्य , र शुद्र नै हुँ । मेरो कुनै वर्ण छैन, र न मैं ब्रह्मचारी नै हूँ , न गृहस्थ या वानप्रस्थ या सन्यासी हुँ । म त मात्र ति निखिल परमानन्दमय उज्जवल पूर्ण-अमृत-सागर, भगवान (गोपीवल्लभ) का दासहरुको दासको पनि दास हुँ।)

भाव र तदनुरुप आचरणले भक्त वा भागवत कुन श्रेणीको हो भन्ने प्रसंग श्रीमद्भागवतको नारद वसुदेव सम्वादमा आउछ (हेर्नुस ११:२:४४-४८)। नारदजीले महाराज निमिलाइ नौ योगिन्द्रहरुले भागवत धर्मको वारेमा उपदेश गरेको कथा वसुदेवजीलाई सुनाउनु हुन्छ। नौ योगिन्द्र मध्य योगिन्द्र हबिर भन्नुहुन्छ: ति भक्त/भागवत जसले सवै प्राणीमा भगवान र भगवानमा सवै स्थित छ भन्ने भाव राख्छन् तिनीहरु उत्तम; जसले भगवानमा र भक्त/भागवतहरुमा प्रेम, अन्य भक्त/भागवतहरुमा मैत्री र अज्ञानमा रहेका माथि कृपा र भगवत द्वेषगर्ने हरु प्रति उपेक्षा गर्दछन तिनीहरु मध्यम; जसले मन्दिरमा श्रद्धापुर्वक हरिको अर्चना त गर्छन् तर भक्त/भागवतलाइ सदव्यवहार गर्दैनन तिनीहरु तल्लो स्तरका प्राकृत भक्त भनिन्छ। सर्वोत्तम भक्त/भागवत तिनीहरु हुन् जसले इन्द्रियद्वारा अनुभूत सवै विष्णुमय देख्छन् र न द्वेष न आनन्दको भाव राख्दछन् । यथा:

सर्वभूतेषु य: पश्येद् भगवद्भ‍ावमात्मन: ।

भूतानि भगवत्यात्मन्येष भागवतोत्तम: ॥ ४५ ॥

ईश्वरे तदधीनेषु बालिशेषु द्विषत्सु च ।

प्रेममैत्रीकृपोपेक्षा य: करोति स मध्यम: ॥ ४६ ॥

अर्चायामेव हरये पूजां य: श्रद्धयेहते ।

न तद्भ‍क्तेषु चान्येषु स भक्त: प्राकृत: स्मृत: ॥ ४७ ॥

गृहीत्वापीन्द्रियैरर्थान्यो न द्वेष्टि न हृष्यति ।

विष्णोर्मायामिदं पश्यन्स वै भागवतोत्तम: ॥ ४८ ॥

सारमा, आचार्यचरण र शास्त्रले प्रस्टयाएको भक्तिको मूल पक्ष प्रेम/भाव हो। तर तिनै भाव व्यक्त गर्न पनि साधन आवश्यक हुन्छ। नवधा भक्तिको नामले जनिने साधन श्रीमद्भागवतको भन्दा क्रम र शब्दमा भेद देखिए पनि तुलसीकृत रामचरित मानसमा शवरीलाई भगवान रामले दिएको उपदेशमा उल्लेख गरिएको छ। नवधा भक्तिको साधनहरु श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वंदन, दास्य, सख्य र आत्मनिवेदन आदिका वारेमा प्रह्लादजी श्रीमद्भागवतमा वर्णन गर्नु हुन्छ:

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम्।
अर्चनं वन्दनं दास्यं सख्यमात्मनिवेदनम्।। (७। ५। २३)

प्रल्हादजीले उल्लेख गर्नु भएको ‘आत्मनिवेदन’ गर्ने र तदनुरुपको भाव र आचरण, भगवानको अनुकुल हुने संकल्प गर्ने र तदनुरुपको भाव र आचरण, भगवानको प्रतिकुल नगर्ने संकल्प र तदनुरुपको भाव र आचरण, भगवानले रक्षा गर्नु हुन्छ भन्नेमा पूर्ण विश्वास र तनुरुपको आचरण, भगवान रक्षक हो भन्ने पूर्ण विश्वास र आचरण, आफूलाई भगवानमा आत्मा निक्षेप गरेँ भन्ने भाव र तदनुरुपको आचरण, र भगवानको सम्मुख दैन्य भाव र तदनुरुपको आचरण भक्तिको माथिल्लो चरण मानिन्छ। वैष्णवाचार्यहरुले यसलाई शरणागति भन्नु भएको छ। यथा:

आनुकुलस्य संकल्प प्रातिकुलस्य वर्जनम्
रक्षिस्यति विश्वासो, गोप्त्रित्व वरणम तथा
आत्मनिक्षेप कार्पण्यम षडविद्या शरणागति ।

शरणागतिको विषद चर्चा खण्ड ४ को प्रारम्भमा गरिएको छ। यसपछि खण्ड २ ‘भगवत भक्ति: प्राप्य स्वरुप’ मा भगवत प्राप्ति (अनुभूति) ले के हुन्छ भन्ने चर्चा श्री शुकदेवका दुईटा स्तुतिहरुको संधर्वमा गरिएको छ। क्रमसः ….
————————

(लेखक डा. कृष्ण उपाध्यायले लन्डन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको छ। तीन दशक अधिक समयदेखि मानव अधिकारका विविध राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत वहाँका आफ्नो पेशागत क्षेत्र बाहेकका एक अंग्रेजी उपन्यास, दुई नेपाली कविता संग्रह पनि प्रकाशित छन्। आज भोलि वहाँ आध्यात्मिक स्वाध्याय र लेखनमा पनि हुनुहुन्छ। यहाँ प्रकाशित आलेखहरु वहाँको प्रकाशोन्मुख ‘भागवत चुडामणि’ नामक आध्यात्मिक ग्रन्थबाट साभार गरिएको हो। वहाँका आलेखहरु पाक्षिक रुपमा प्रकाशित गरिने छ-सम्पादक)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू