गौरिका: बसाइ लन्डन, मन नेपालमा


लन्डन । नेपाली चाडपर्व नजिकिंदा निकै उत्साहित हुन्छिन् गौरिका सिंह । उनले तिहारको तयारी पनि गरिसकेकी छन् । कुकुर पूजा गरिन्, भाई सौरेनलाई टिका लगाइदिन उनले सामग्री जोरजाम गरिसकेको सुनाइन् ।
‘मलाई कुकुर निकै मन पर्छ । यसपटक पनि छिमेकी घरको कुकुरलाई पूजा गरें’, उनले भनिन्, ‘भाइटिका पनि छ । बरु कलेज भएकाले समय मिलाउनु पर्नेछ । परिवारका साथ मिठाइ, सेलरोटी खाएर तिहार मनाउंछु ।’
लन्डनवासी गौरिकाको व्यस्त छ दिनचर्या । कलेजको पढाई र खेल प्रशिक्षणमा अधिकांश समय जान्छ। हप्ताको ६ दिन हरेक दिन दुईदेखि चार घण्टासम्म प्रशिक्षण चल्ने उनले बताइन् ।
गत २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा आयोजित १९ औं एसियन गेम्स् गुमाइन् उनले । त्यसको कारण थियो, भर्खर शुरु भएको कलेज ।
‘एसियन गेम्स् हुंदा मेरो नयाँ कलेज शुरु भइसकेको थिएन । मैले खेल्छु भनेर ओके गर्दा यता कलेजले अनुमति दिएन भने म मात्र होइन मेरो सट्टा जाने अरुको पनि मौका गुम्ने भएकाले यसपटक नजाने निर्णय नै गरेकी हुं’, उनले एसियन गेम्सबाट नाम फिर्ता लिनु परेको वाध्यता सुनाइन् ।
गौरिकाले टफ्ट्स युनिभर्सिटी, बस्टन, अमेरिकामा ४ वर्षे ब्याचलर्स कोर्स गरिरहेकी छन् । दुई वर्ष सकिसकेको छ । तेश्रो वर्षमा सम्बन्धन रहेको विदेशी युनिभर्सिटीमा समेत अध्ययन गर्न मिल्ने हुँदा उनले गत सेप्टेम्बरबाट लन्डन स्कूल अफ इकनमिक्समा अध्ययन सुचारु गरेकी छन् । चौथो वर्षमा फेरि बस्टन नै जानु पर्छ उनी ।
जापानको फुकुओकामा केही महिना अघि सम्पन्न २०औँ वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेपछि फेरी चर्चामा आएकी थिइन् गौरिका ।
दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णधारी सिंहले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ दशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।
जापानमा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमानबारे प्रतिक्रिया दिंदै गौरिकाले लन्डनमा भनिन्, ‘मैले जापानमा दुईवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकोमा धेरै नै खुशी लागेको छ। मलाई प्रशिक्षण दिने टिम र मेरो मेहनतको फल हो यो ।’
यसले आगामी दिनमा अझै राम्रो गर्ने हौसला मिलेको उनी बताउंछिन् । ‘म हरेक प्रतियोगितामा सकेसम्म राम्रो गर्ने प्रयास गर्दछु। हाल पौडीमा मेरो नाममा लङ्ग कोर्समा १० वटा र सर्ट कोर्समा ११ वटा राष्ट्रिय कीर्तिमान छन् भने आजसम्म मैले ६९ पटक राष्ट्रिय कीर्तिमान कायम गरेकी छु’– उनले सुनाइन् ।
राष्ट्रिय कीर्तिमान बन्दा सन्तुष्टि मिल्ने भए पनि राष्ट्रिय कीर्तिमान नबन्दा वा आफ्नो प्रदर्शन सोचे जस्तो नहुँदा पनि सामान्य रुपमा लिने गर्छिन् उनी ।
जापानमा खेल्न जानु अघि उनलाई अलिक धपेडी परेको थियो किनभने पहिले क्वालिफाइङ खेल्न अमेरिकाबाट नेपाल जानु परयो। यसको केही हप्तापछि परीक्षा भएकाले प्रशिक्षण लिन केही समय कटौती गर्नु परेको उनी स्मरण गर्छिन् । ‘बस्टन, अमेरिकाबाट परीक्षा सकेर लण्डन फर्केपछि लगभग ६ हप्ता जति कडा प्रशिक्षण लिन पाएकी थिएँ’– उनले भनिन् ।
सन् २०१६ को रियो ओलम्पिक्समा सबैभन्दा कान्छी खेलाडी भएर उनको चर्चा खुबै बढेको थियो राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियामा।अचेल उनको खेल जीवन अलिकति सुस्त भएको हो ?
जवाफमा उनले प्रस्ट्याइन् ‘अमेरिकाबाट नेपाल जान समय, खर्च समेत बढी लाग्ने हुँदा पहिले जति नेपालमा गइरहन सम्भव हुन्न । फेरि पढाईको तह पनि बढ्दै जाँदा भनेको समयमा पढाई छोड्न मिल्दैन। विदा मिलेको समयमा मात्र नेपालमा हुने एवं अन्य प्रतियोगिताहरुमा भाग लिन सकिन्छ। बीचमा कोभिड महामारीले पनि खेल प्रतियोगिताहरु हुन सकेन। साउथ एशियन गेम्स पनि हुन सकेको छैन। विविध कारण खेल जीवन सुस्त भएको जस्तो देखिनु स्वाभाविक हो।’
अहिले अध्ययन उनको पहिलो प्राथमिकता छ । अध्ययनकै बीचमा आवश्यक ट्रेनिङ गरी सम्भव भएसम्म पौडी प्रतियोगिताहरुमा भाग लिने अठोट गौरिकाले गरेकी छन् । ‘म नेपाललाई प्रतिनिधित्व गर्ने सबै प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछु। अध्ययन सकी आफू क्षमतावान भएपछि मात्र नेपाललाई किटानीसाथ के गर्ने भनी सोच्न सकिन्छ। केही गर्छु भनेर मात्रै हुने होइन’- उनले भनिन् ।
हो, नेपाल सम्पन्न छैन । श्रोत साधन अभावबीच नेपाल सरकारले खेलाडीहरुलाई के गर्छ भन्ने कुरामा आफू बढी ध्यान नदिने उनले बताइन् । ‘आफ्नो देश नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा मलाई ठूलो गर्व लाग्छ’- उनी भन्छिन् ।
प्रशिक्षण साथै पढाईमा पनि सक्दो राम्रो गर्ने प्रयास उनले जारी राखेकी छन् । ‘मैले परिश्रम अनुसारको फल पनि प्राप्त गरेकी छु। हरेक टर्ममा डिन्स् लिष्ट (मेरिट लिष्ट) मा आफ्नो नाम निकाल्न सफल भएकी छु’- उनले अर्को सफलता सुनाइन् ।
गौरिकाका पिता डा. पारसबहादुर सिंह यूरोलोजिस्ट हुन् भने आमा गरिमा राणा सिंह सन् १९९५ को एसएलसी बोर्ड परीक्षा टपर । उनको एक भाइ छन् १४ वर्षका सौरेन बहादुर सिंह । सौरेन पनि दिदी जस्तै पौडी खेल्छन् । नेपालमा दुईपटक न्याशनल गेम्समा सहभागी भइसकेका छन् उनी । पोखरामा भएको न्याशनल गेम्समा उनले सशस्त्र प्रहरीलाई प्रतिनिधित्व गर्दै ३ वटा कास्य पदक प्राप्त गरेका थिए ।
उनका बुबा डाक्टर, छोरीलाई आफ्नै पेशामा जान जोड दिएनन् ? गौरिका भन्छिन् ‘पेशा भनेको आफ्नो रुची अनुसार रोजिने हुन्छ। म हुर्केको समाजमा बाबु आमाले छोराछोरीलाई पढ्न प्रोत्साहन गरे पनि पेशा रोज्न स्वतन्त्र रुपमा छाडेका हुन्छन्। मेरो पिताले मलाई डाक्टर बन्न कहिले पनि दवाव दिनु भएन।’
गौरिका सानो छंदा पौडीमात्र होइन, टेनिस, नेटबल समेत खेल्ने गर्थिन् । ‘ठूलो उमेर, प्रगति हुँदै गएपछि र एउटै खेल रोज्नु पर्ने भएकोले मैले पौडी खेल रोजेकी हुँ’- उनले भनिन् ।
खेलकुदबाट मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त रहने हुँदा आफ्नो चयनको खेलमा लाग्नु अपरिहार्य रहेको उनको भनाइ छ। खेलकुदमार्फत कुलतबाट पनि बचिने जनाउंदै गौरिकाले स्वस्थ रहन नियमित व्यायाम र स्वस्थकर खानाको आवश्यकतामा जोड दिन्छिन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५