आइतबार, भदौ २३, २०८१
04:13 | ०८:५८

देउसीभैलो खेल्दै चार्ल्टन नेपाली समाजमा मनाइयो दशैंतिहार

नेपाली लिङ्क नोभेम्बर ६, २०२३

लन्डन–दशैं, तिहारलगायतका नेपाली पर्वहरुको अवसरमा साउथ इष्ट लन्डनको चार्ल्टनमा एक शुभकामना कार्यक्रम गरिएको छ।

स्थानीय चार्ल्टन नेपाली समाजको आयोजनामा आइतबार बेलुका मेरिडियन स्पोर्टस् सेन्टरमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहित दशैंतिहार शुभकामना आदानप्रदान गरिएको हो।

समाजका अध्यक्ष सीता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भ पशुपतिनाथ मन्दिर प्लमस्टिडका पण्डित ज्योतिषी निलहरि घिमिरेले दीप प्रज्वलन गरी गरेका थिए। 

त्यस अवसरमा कार्यक्रमका विशेष अतिथि रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट र समाजका पूर्व अध्यक्ष रोमनाथ पाण्डेले दशैंतिहारलगायत सबै नेपाली पर्वहरुको शुभकामना दिएका थिए।

समाजकी अध्यक्ष सीता अर्यालले संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो भेषभूषा, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको ठानेर कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रममा प्रमुख आकर्षण मौलिक देउसीभैलोका प्रस्तुतिहरु थिए। मञ्जु गौतम, कमला खराल, गीता भण्डारी, शिवादेवी भण्डारीलगायत समूहले प्रस्तुत गरेको मौलिक देउसीभैलोदेखि खड्क रेश्मीको समूहले प्रस्तुत गरेको आकर्षक देउसी भैलोले माहोल तिहारमय बनाएको थियो ।

कार्यक्रमका सयौं सहभागीलाई अध्यक्ष अर्याल आफैले पकाएर ल्याएका सेलरोटी चखाएकी थिइन्। आकर्षक शैलीमा सजाइएको स्टेजले पनि धेरैलाई नेपालकै झल्को दिलाएको थियो। 

औपचारिक सत्र महासचिव वसन्त खनालले तथा सांस्कृतिक कार्यक्रम सहसचिव सुनिता कंडेलले सञ्चालन गरेका थिए। उपाध्यक्ष दिल जिसीले स्वागत मन्तव्य दिएका थिए।

नेपालबाट आएका गायक राजेश बर्देवाले सांगीतिक प्रस्तुतिमार्फत् मनोरञ्जन दिलाएका थिए भने डिजे हेम विष्टले विभिन्न गीतहरु बजाएर नचाएका थिए।

सो अवसरमा स्वादिलो नेपाली डिनर माउन्टेन भ्यू चिजलहर्स्टले उपलब्ध गराएको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू