भिसी विजेता स्वर्गीय पुनको नाममा संग्रहालय बनाउन डिपिआर
म्याग्दी । दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेवापत सर्वोच्च युद्वपदक ‘भिक्टोरिया क्रस’ विजेता स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बन्ने भएको छ । संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
गोर्खा आन्दोलनका महानायक म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा भिसी तुलबहादुरको नाममा संग्रहालय बनाउन छोरा अर्जुन तिलिजाले करिब चार आनाको घर खरिद गरेको करिब आधादशक पछि गाउँपालिकाले डिपिआर तयार गरेको हो ।
स्व. पुनको जन्मघर रघुगंगा गाउँपालिका–१ बादुक र सोही वडाको बजारी क्षेत्र पर्ने बेनी–जोमसोम सडकखण्डको कालिका मावि नजिकै घर खरिद गरिसकिएको छ।
घरलाई नै संग्रहालयका रूपमा विकास गर्न भिसी पुनले प्रयोग गरेका सामान संरक्षण गर्ने, पुराना र स्थानीय औजार, सामान, उपज, संस्कृति र भेषभूषालाई समेत संग्राहालयमा राख्नेगरी भिसीको सम्झनामा संग्रहालय बनाउने रघुगंगा गाउँपालिका–१ का वडा सदस्य एवं भिसी तुलबहादुर पुन युवा क्लवका संस्थापक अध्यक्ष बलमान गौचनले बताए।
जन्मस्थानको अवलोकन भ्रमण गराउन र भिसीका जीवन्त र वास्तविक कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीपमूलक र भाषामूलक तालिम सञ्चालन गर्ने योजना बनाइएको छ। बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका माविको संस्थापकसमेत रहेका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पुरयाएका थिए।
संग्रहालयबाट प्राप्त आम्दानीलाई स्थानीय सामुदायिक विद्यालयमा खर्च गर्ने योजना समेत रहेकाले सरकारी निकायबाट सहयोग प्राप्त नभए बेलायतमै अभियान सञ्चालन गर्ने योजना छ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संग्रहालयको डिपिआर तयार गरिएकाले अब कामले गति लिने बताए। उनले भिसी पुनको जन्मस्थल आसपासका क्षेत्रमा निर्मित हुने ठूला योजनाहरूको नामकरणसहित आन्तरिक पर्यटकलाई समेत आर्कषित गर्ने योजनाबारेमा आवश्यक अध्ययन भइरहेको बताए।
जन्मभूमि र स्वर्गारोहण भएको स्थानमा संग्रहालय बनाउने भिसी पुन परिवारको चाहनालाई गाउँपालिका र स्थानीयले समेत सघाएका छन्। भिसी पुनको समाधीस्थलमा समेत स्थानीयले संरक्षण तथा पुन्यतिथिमा श्रद्धाञ्जलिसभा गर्ने गरेका छन्।
म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले तुलबहादुर पुन भिसी वीरता, समाज सेवा र समानताको आन्दोलनका प्रेरणा भएकाले समुदायका अभियानमा पूर्ण साथ र सहयोग हुने बताए। उनले संग्रहालय बनाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत भित्रयाउन थप पूर्वाधारहरू समेत विस्तार गर्न सकिने बताए।
गोर्खा सेनाबाट अवकाश पाएसँगै भिसी पुन आफ्नै गाउँ फर्किएर गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए। सामाजिक सेवाकै क्रममा गाउँको प्रधानपञ्चमा समेत निर्वाचित भए। जिल्ला पञ्चायत तथा धवलागिरी अञ्चलको सदस्यको रूपमा पनि काम गरेका तुलबहादुरले खानेपानी र विद्यालय स्थापनासँगै अन्य सामाजिक अभियानमा समय दिए। विसं १९६९, २१ फागुनमा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ वर्षको उमेरमा २०६८ सालमा तिप्ल्याङमा निधन भएको थियो।
भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितीमा आफनो राष्ट्रको लागी अद्धितीय पराक्रम र निष्ठा युद्धभूमिमा प्रर्दशन गरे वापत प्रदान गरिने व्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो।
बेलायत अधिनस्थ भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राइफल्स, पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउको रेल्वे पुलमा जापानी सैनिकसंगको भीषण युद्धमा घाइते अवस्थामा पनि एक्लै बहादुरीपूर्वक लडी युद्ध जितेकाका पुनले एक्लैले जापानी सैनिकलाई परास्त गरी दुईवटा मेसिनगनसहित धेरै हतियार कब्जा गरेका थिए। यो पदक नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभेलमा १ जनवरी १९४५ मा प्रदान गरिएको थियो।
बेलायतको एक रेल सेवाले स्व. पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ। बेलायती अभिनेत्री जोअना लुम्लेले बेलायती जनताको ह्दयमा सधैं स्थान पाउने एउटा निष्ठावान् कमाण्डर, बेलायतीको महानायक भएको घोषणासमेत गरेकी थिइन्। पुनले भिक्टोरिया क्रस पाउँदा २१ वर्षका थिए । –हरिकृष्ण गौतम