दशैं टीकाको शुभसाइत नेपालमा बिहान ११:०२, बेलायतमा ९:४५ बजे


काठमाडौं- यस वर्षको दशैं टीकाको शुभसाइत नेपालमा बिहान ११ः०२ बजे परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको उत्तम साइत सार्वजनिक गरेको हो। मंगलबार विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।
देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुनेछ।
यता, बेलायतमा भने टीकाको शुभसाइत बिहान ९:४५ मा जुरेको छ । पशुपतिनाथ मन्दिर लन्डनका पन्डित ज्योतिषी निलहरि घिमिरेले सूर्योदयका आधारमा साइत निश्चित हुने भएकाले नेपाल र बेलायतमा फरक समय जुरेको स्पष्ट पारे।
विजयादशमीको टीका ग्रहण गर्ने पूर्वतर्फ र लगाइदिने पश्चिमतर्फ फर्किन उत्तम मानिने घिमिरेले जानकारी दिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५