पुटिनले चीनसंग ‘अभूतपूर्व’ ऊर्जा सम्बन्धको गरे प्रशंसा



बेइजिङमा पुटिन सी भेटघाट । तस्विर सिन्हवा
मस्को, २ असोज–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्को र बेइजिङबीचको ‘अभूतपूर्व’ ऊर्जा सहकार्यको प्रशंसा गरेका छन् भने क्रेमलिनले युरोपेली बजारमा भएको नोक्सानीको क्षतिपूर्तिका लागि आफ्नो एसियाली साझेदारीलाई मजबुत बनाउने प्रयास गरिरहेको छ ।
युक्रेनको आक्रमणलाई लिएर रूसमाथि पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएको छ भने युरोपले मस्कोसँगको आफ्नो ऊर्जा सम्बन्ध अन्त्य गर्ने प्रयास गरिरहेको छ ।
पुटिनले बिहीबार दुई दिने चीन भ्रमण पूरा गरेका छन्, जुन पूर्व सोभियत सङ्घबाहिर यस वर्ष भएको पहिलो भ्रमण हो ।
“रूसी सङ्घ र चिनियाँ जनगणतन्त्रबीचको समग्र साझेदारी र रणनीतिक सहयोगको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको छ र गतिशील रूपमा विकास भइरहेको छ,” बेइजिङमा आयोजित रूसी–चिनियाँ ऊर्जा मञ्चलाई सम्बोधन गर्दै पुटिनले भने ।
“यस सम्बन्धको एक प्रमुख क्षेत्र ऊर्जा सहयोग हो, जुन बढ्दो रूपमा सक्रिय भइरहेको छ,” उनले भने ।
रूसी तेल कम्पनी रोसनेफ्टका प्रमुख इगोर सेचिनले रूसले छिमेकी मुलुक चीनमा गर्ने निर्यातको ७५ प्रतिशतभन्दा बढी ऊर्जासँग जोडिएको बताए ।
“यो वर्ष, चीनमा रूसी ग्याँस निर्यात एक ऐतिहासिक अधिकतम पुग्नेछ अर्थात् यो वर्ष – ३० अर्ब क्यूबिक मिटरभन्दा बढी ग्याँस वितरण गरिनेछ,” पुटिनका निकट सहयोगी रहेका सेचिनलले भने ।
सेचिनले सन् २०२३ मा साउदी अरबलाई उछिनेर रूस चीनको मुख्य तेल आपूर्तिकर्ता भएको बताए ।
विशेषगरी जी–७, युरोपेली सङ्घ र अस्ट्रेलियाले रूसको निर्यातमा मूल्य सीमा तोकेका तेलमा पश्चिमा मुलुकले कडा प्रतिबन्ध लगाएका छन्, मस्कोले महिनौंदेखि एसियामा डेलिभरी लाई पुनर्निर्देशित गर्ने प्रयास गर्दै आएको छ ।
मस्कोले अर्को वर्ष रूसबाट चीनसम्म ‘साइबेरिया २ को पावर’ पाइपलाइन निर्माण सुरु गर्ने आशा गरेको छ, जुन बेइजिङमा अधिक प्राकृतिक ग्याँस पुरयाउने एक विशाल परियोजना हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५