शनिबार, पुष २७, २०८१
23:09 | ०४:५४

गाजा अस्पताल आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा   

रासस-सिन्ह्वा अक्टोबर १८, २०२३

विष्फोटले ध्वस्त अस्पताल परिसर । तस्बिर एएफपी

जेनेभा, १ कार्तिक–संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको उनले बताएका छन् ।

‘स्तब्ध छु । आज राति सयौं मानिस भयानक रूपमा मारिए । गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन्’, उनले भनेका छन् ।

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्किएर ठूलो विस्फोट भएको थियो। ‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ, यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ’, टर्कले भने ।

‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ’, उनले जोड दिए ।

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा अबस्थित शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलबार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४,००० मानिसले लागि आश्रय लिइरहेका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।

डब्ल्युएचओले भनेको छ – ‘अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो।’

डब्ल्युएचओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाका लागि आह्वान गरेको छ ।

‘निकासी आदेशहरू उल्टाउनुपर्दछ र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुंदैन’- विज्ञप्तिमा छ ।

मङ्गलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ।

‘अस्पतालहरू मानव जीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्यहरू हेर्नका लागि होइन। अस्पतालको शय्यामा आक्रमणबाट बिरामीको मृत्यु हुनु हुँदैन। अरूलाई बचाउन खोज्दा कुनै पनि डाक्टरले आफ्नो ज्यान गुमाउनु हुँदैन। अस्पतालहरूलाई अन्तरराष्ट्रिय मानवीय कानून अन्तर्गत सुरक्षित हुनुपर्छ’- आइसीआरसीले भनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू