आइतबार, मंसिर ९, २०८१
12:12 | १७:५७

फ्रान्सको विद्यालयमा छुरा प्रहार, एक शिक्षकको हत्या, दुई घाइते

रासस-एएफपी अक्टोबर १३, २०२३

लिल्ली, फ्रान्स, २६ असोज—उत्तरपूर्वी फ्रान्सको अरास शहरस्थित एक विद्यालयमा शुक्रबार भएको छुरा आक्रमणमा परी एक शिक्षकको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएको प्रहरी तथा क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

आक्रमणकारी रूसको मुस्लिम बहुल दक्षिणी काकेशस क्षेत्र चेचन्याका रहेको र उनी सम्भावित सुरक्षा खतराका रूपमा फ्रान्सको राष्ट्रिय निगरानी सूचीमा पहिल्यै देखि नै थिए ।

घाइते हुनेमा एक सुरक्षाकर्मी र कम गम्भीर अवस्थामा रहेका एक शिक्षक रहेको स्रोतले जनाएको छ ।

विद्यालयका कुनै पनि विद्यार्थी घाइते नभएको प्रहरी स्रोतले जनाएको छ । 

गृहमन्त्री गेराल्ड डार्मानिनले ट्वीटरमा लेखेका छन्, “ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।” स्थानीय प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र अब सर्वसाधारणका लागि कुनै खतरा नरहेको बताएको छ ।

आक्रमणपछि केही समय विद्यालयका विद्यार्थी र शिक्षकलाई विद्यालय परिसरमै सीमित गरिएको थियो ।

“अपराधीले अरबी वाक्यांश ‘अल्लाहु अकबर!’ (ईश्वर महान् हुनुहुन्छ) भनेर चिच्याएको थियो,” अनुसन्धानको प्रारम्भिक जानकारीबारे बताउँदै नाम नबताउने शर्तमा एक प्रहरी स्रोतले एएफपीसँग भन्यो । 

थप अनुसन्धानपछि अन्य जानकारी आउने उनले बताए ।

फ्रान्सले तत्काल उक्त आक्रमणको बारेमा आतङ्कवादी अनुसन्धान सुरु गरेको राष्ट्रिय आतङ्कवाद विरोधी अभियोजनकर्ताहरूले बताएका छन् ।

यस देशमा सन् २०१५ देखि इस्लामी चरमपन्थीहरूले शृङ्खलाबद्ध आक्रमण भोगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू