शुक्रबार, पुष २६, २०८१
06:39 | १२:२४

बेलायतका अभियन्ता तिमल्सेना पुन: एनआरएनए सहकोषाध्यक्षमै उम्मेद्वार

नेपाली लिङ्क अक्टोबर १३, २०२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा बेलायतका अगुवा अभियन्ता कृष्ण तिमल्सेनाले आसन्न आइसीसी निर्वाचनमा सहकोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

यसअघि सन् २०२१-२३ को सहमतीय कार्यकालमा सहकोषाध्यक्षको जिम्मेवारी सम्हालेका उनले आगामी कार्यकालमा पनि सोही पदमा उम्मेद्वारी दिने भएका हुन्।  

‘११ औँ महाधिवेशनमा धेरै अग्रज तथा सहकर्मी अभियन्ताको सुझावअनुसार आगामी कार्यकाल २०२३/०२५ मा मैले पुनः सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको छु’, उम्मेद्वारी घोषणा गर्दै तिमल्सेनाले भनेका छन्।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले आफूलाई महाधिवेशन प्रतिनिधिहरुले सहकोषाध्यक्ष पदमा अत्याधिक मतसहित विजयी बनाउने आशा राखेका छन्।

‘सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय भई यूकेको कार्यसमिति सदस्य र उपाध्यक्ष, आईसीसी सदस्य, युरोप उपसंयोजक हुँदै हाल केन्द्रीय सह कोषाध्यक्षको भूमिकामा रहेको अवस्थामा पुनः सहकोषाध्यक्ष पदमै उम्मेदवारी दिँदा यहाँहरू सबै ४२२७ प्रनिनिधिहरुले सकारात्मक रूपमा लिएर धेरैभन्दा धेरै मतका साथ विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु’-उनले  भनेका छन्।

आफू  निर्वाचित भए सबैको अमूल्य मतको कदर गर्दै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। 

नेपाली लिंकसँगको संवादमा तिमल्सेनाले काम गर्ने क्रममा पद प्रधान नहुने भन्दै जुनसुकै भूमिकामा रहेर पनि योगदान गर्न सकिन्छ भन्ने विश्वास आफूलाई रहेको बताए । 

‘धेरै साथीहरुले उपल्लो पदहरुमा रुचि राख्नुभएको छ । मैले उहांहरुसँग हानथाप गर्नुभन्दा आफूले यसअघि  नै काम गर्दै आएको भूमिकामै निरन्तरता दिने निर्णय लिएको हुं’, उनले भने ।  

बेलायतका स्थापित व्यवसायी तिमल्सेना समुदायमा एक सरल, मिलनसार र सच्चा समाजसेवीका रुपमा परिचित छन्।  

एनआरएनएसहित विभिन्न संस्थाहरुमा आबद्ध उनले व्यक्तिगत रुपमै समेत नेपालमा कयौं च्यारिटी गरेका छन् भने बेलायतमै अफ्टेरोमा परेका धेरै नेपालीलाई पनि सहयोग गर्दै आएका छन्।

१६ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय उनले एनसिसी यूकेमा कार्यसमिति सदस्य र उपाध्यक्ष तथा आइसीसी सदस्य, युरोप उपसंयोजक हुँदै आइसीसी सह कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू