शुक्रबार, पुष २६, २०८१
07:06 | १२:५१

एनआरएनएमा मध्यपूर्वलाई पहिलोपटक नेतृत्व दिलाउने शर्माको अठोट

नेपाली लिङ्क अक्टोबर ११, २०२३

लन्डन- एनआरएनए अध्यक्षको दौडमा रहेका मुख्य प्रत्यासीमध्ये एक हुन् कतारका राजेन्द्रकुमार (आरके) शर्मा। सन् २००३ मा श्रमिकको हैसियतमा कतार पुगेका उनको परिचय अहिले भने थुप्रै कम्पनीका मालिक ‘बिजनेसम्यान’ का रुपमा फेरिएको छ। कतारमा मेडिकल सेन्टर, फेसिलिटी मेनेजमेन्ट, निर्माणसहितका व्यवसाय सञ्चालन गरेका उनले नेपालमा पनि हाइड्रो, बैंकिङ, केबलकारलगायत क्षेत्रमा लगानी गरेका छन्।  

एनआरएनर अभियानमा शर्माको यात्रा १७ वर्ष लामो छ। आइसीसी सदस्य, मध्यपूर्व संयोजक, आइसीसी सचिव हुंदै वर्तमान समितिमा उपाध्यक्षसम्मको जिम्मेवारी उनले सम्हालिसकेका छन्। त्यसअघि कतार एनसीसीको सल्लाहकारदेखि आइसीसीका विभिन्न टास्कफोर्समा रहेर पनि उनी एनआरएनमा सक्रिय रहे।  

शर्माको अध्यक्ष उम्मेद्वारीमा सबैभन्दा चर्को मध्यपूर्वको नारा घन्किएको छ। श्रमिक एनआरएनहरुको बाहुल्य रहेको मध्यपूर्वलाई पहिलोपटक आइसीसीको अध्यक्ष दिलाउने अठोट उनले व्यक्त गरेका छन्। 

राजनीतिक रुपमा नेकपा माओवादीनिकट मानिने शर्मालाई उक्त पार्टीका समर्थकहरुको सहयोग मिल्ने देखिन्छ। तर कांग्रेस र एमालेनिकट उम्मेद्वारहरुसँगको निर्वाचन उनका लागि पक्कै पेचिलो हुनेछ। कुनै पनि पार्टीको क्रियाशिल सदस्य नरहेको बताउने उनी आफूले सबै पार्टीको साथ पाउने र मिलेर काम गर्न सक्ने विश्वास व्यक्त गर्छन्।

चुनावी अभियानमा अन्य उम्मेद्वारको तुलनामा झन् बढी सक्रिय देखिएका शर्मा यतिबेला विश्व दौडाहामा छन्। हालसम्म करिब ४० देश पुगेर उनले स्थानीय एनआरएनए अभियन्ताहरुसंग अन्तरक्रिया गरिसकेका छन्।

‘संसारभरका एनआरएनए साथीहरुसंगको भेटले मलाई ठूलो उर्जा र हौसला दिएको छ। आशा राखेभन्दा पनि अझ बढी समर्थन र साथ पाएको छु’, उनी भन्छन्, ‘मूल नेतृत्वमा परिवर्तन गरेर मात्रै संस्थाको परिवर्तन र सुधार सम्भव छ भन्ने सबैको राय छ। त्यसकारण पनि संस्थामा मेरो नेतृत्व अब निर्विकल्प र जरुरी बनेको छ।’

हालसम्म पनि च्यारिटीमै केन्द्रित रहेको एनआरएनएमा अब नीतिगत तहमा काम गर्न जरूरी रहेको शर्मा बताउंछन्।

‘च्यारिटी त छदैँछ, अब पोलिसीमा काम गर्नुपर्नेछ । तब मात्रै गैरआवासीय नेपालीका हकअधिकार स्थापित गर्नेदेखि नेपालको आर्थिक समृद्धिको यात्रामा सघाउने लक्ष्य सम्भव रहन्छ’-उनले भने ।

केही हजारमा सिमित संस्थामा सबै गैरआवासीय नेपालीको अपनत्व स्थापित गर्ने, सामूहिक लगानी प्राधिकरणमार्फत् उपभोगमै खुम्चिएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा प्रोत्साहित गर्नेदेखि एनआरएनए नागरिकताको निरन्तरता, विदेशका नेपालीको भोटिङ अधिकार, पूर्व गोर्खाहरुको अधिकारस्थापनालगायत मुद्धालाई शर्माले आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

कतिपयले आशंका गरेजस्तो आफ्नो उम्मेद्वारी फिर्ता गर्ने वा सहमतिका लागि त्याग गर्ने कुनै सम्भावना बांकी नरहेको शर्मा बताउंछन्। ‘संसारभरका यति धेरै साथीहरुको साथ, समर्थन पाएपछि अब मेरो उम्मेद्वारी केबल व्यक्तिगत रहेन। सबैको भावनाको कदरका लागि पनि मसँग अब पछाडि फर्किने सुविधा छैन’-उनले भने ।

आगामी कार्यकाल फलदायी बनाउने गरी योगदान गर्न सक्ने र कम विवादित पात्रहरुलाई समेटेर टीममा अघि बढाउने योजना शर्माले सुनाएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू