गाजापट्टीमा एक लाख २३ हजार बढी विस्थापित



इजरायलको हवाई आक्रमणपछि ध्वस्त गाजा सिटीको अहमेद यासिन मस्जिद अवलोकन गर्दै एक प्यालेस्टिनी । तस्विर एएफपी
जेरूसेलम, २२ असोज–प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।
“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएले भनेको छ ।
ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ ।
हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताउनुभभएको छ ।
“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,” उहाँले एएफपीसँग भन्नुभयो ।
गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५