आइतबार, मंसिर ९, २०८१
13:41 | १९:२६

हमासद्वारा इजरायलमाथि आक्रमण, दुवैतर्फ कम्तीमा ३०० को मृत्यु

रासस/एएफपी अक्टोबर ७, २०२३

तस्बिर सिन्हवा

जेरुसेलम, २० असोज-इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

“गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।

अमेरिका, भारत र ईयूलगायत विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा भएको छ तर इरानले हमासको पक्षमा समर्थन जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले गाजापट्टी शनिबार भएको घटनाले विश्व समुदायलाई चिन्तित बनाएको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर तुर्कले भने, “म हिंसा तत्काल रोक्न आह्वान गर्दछु र थप रक्तपात हुन नदिन सबै पक्ष र यस क्षेत्रका प्रमुख देशहरुलाई तनाव कम गर्न अपिल गर्दछु ।”

उनले इजरायली नागरिकलाई बन्धक बनाइएको भन्ने खबरप्रति आफू निकै चिन्तित रहेको बताएका छन् ।

अमेरिकाले इजरायलविरुद्ध हमास ‘आतङ्ककारी समूह’ का लडाकूले गरेको आक्रमणको ‘स्पष्ट शब्दमा’ निन्दा गरेको ह्वाइट हाउसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासका आतङ्ककारीहरूले इजरायली नागरिकमाथि गरेको अकारण आक्रमणको संयुक्त राज्य अमेरिका कडा एवं स्पष्ट शब्दमा निन्दा गर्दछ ।”

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीसँग कुरा गर्दै यस अभियानको बारेमा इजरायली साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहने बताएका छन् ।

वाट्सनले भने, “हामी इजरायल सरकार र जनताको साथमा दृढतापूर्वक उभिएका छौं र यी आक्रमणमा ज्यान गुमाएका इजरायलीका आपन्तजनप्रति समवेदना प्रकट गर्दछौं ।”

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकूसमूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यवद्धताका साथ उभिएको बताएका छन् । “इजरायलमा आतङ्कवादी हमलाको खबरले म स्तब्ध भएको छु,” मोदीले ट्वीटरमा लेखेका छन्, “यस कठिन घडीमा हामी इजरायलको साथमा छौं ।”

त्यसैगरी ब्रसेल्सबाट प्राप्त समाचारमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले शनिबार सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेका छन् ।

उनले एक्स (ट्वीटर) मा लेखेका छन्, “नागरिकहरूलाई उनीहरूको घर वा गाजामा बन्धक बनाइएका समाचारहरू डरलाग्दो छन् । यो अन्तर्राष्ट्रिय कानुनविपरीत छ । बन्धक बनाइएकाहरूलाई तुरुन्तै रिहा गर्नुपर्छ ।”

रूसी विदेश मन्त्रालयले ‘युद्ध’ तत्काल रोक्न र बृहत् तथा स्थायी शान्तिको लागि आग्रह गरेको छ ।

तस्बिर सिन्हवा

आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका विश्व समुदायले पनि चासो व्यक्त गरिसकेका छन् । उनीहरूले प्यालेटिनी क्षेत्रमा भएको युद्ध अन्त्यका लागि कामना गरेका छन् भने स्थायी शान्ति कायम गर्न द्वन्द्वरत दुवै पक्षसँग आह्वान गरेका छन् ।

साउदी अरबको विदेश मन्त्रालयले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गरेको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साउदी अरबले दुई पक्षबीचको तनाव तत्काल रोक्न, नागरिकको सुरक्षा र आत्मसंयमका लागि आह्वान गर्दछ । प्यालेस्टाइनी जनतालाई उनीहरूको वैध अधिकारबाट निरन्तर बञ्चित गरिँदा विस्फोटक स्थितिको खतरा उत्पन्न भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

इरानद्वारा हमासद्वारा इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् ।

“हामी यो अभियानलाई समर्थन गर्दछौं,’ याह्या रहिम सफावीले उद्धृत गर्दै आइएसएनए समाचार एजेन्सीले लेखेको छ ।

सफावीले प्यालेस्टाइन र जेरुसेलमको मुक्ति नभएसम्म प्यालेस्टाइनी लडाकूलाई समर्थन गरेको बताए । शनिबार संसदको बैठकमा इरानी सांसदहरूले ‘डाउन विथ इजरायल’, ‘डाउन विथ अमेरिका’ र ‘वेलकम प्यालेस्टाइन’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू