तमु समाज यूकेले मनायो १६ औं वार्षिक उत्सव
लण्डन। तमु समाज यूकेले संस्था स्थापनाको १६ औं वार्षिक उत्सव मनाएको छ ।
सेप्टेम्बर ३० शनिवार लन्डन वेम्ब्लीस्थित बारहम पार्कमा रहेको आफ्नै समाजघरमा वार्षिक उत्सव मनाएको हो।
तमु समाज यूकेले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै यसपटक बढी तामझाम नगरी पारिवारिक माहोलमा वार्षिक उत्सव मनायो ।
औपचारिक कार्यक्रम सञ्चालन गर्दै महासचिव धरमबल गुरुङले समाजका अध्यक्ष शिव कुमार गुरुङको सभापतित्वमा उनकी धर्मपत्नी श्रीमति मिना कुमारी गुरुङ, समाजका सल्लाहकारहरु प्रमुख अतिथि लन्डन बार्नेट काउन्सिल काउन्सिलर कमल गुरुङ, समाजकै आमा समूह पूर्व अध्यक्ष समेत रहेकी उनकी धर्मपत्नी श्रीमति माया गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र उनको धर्मपत्नी श्रीमति जयन्ती गुरुङ, पूर्व अध्यक्षहरु अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्षहरु श्रीमति बिन्दु घले, भिम बहादुर गुरुङ, आमा समूह अध्यक्ष उमा देवी गुरुङ, उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, सल्लाहकार सोलिसिटर राजु थापा, सल्लाहकार काशीराज बोहोरा र अन्य सल्लाहकारहरुलाई विधिवत रूपमा आसन ग्रहण गराए ।
त्यसपछि अध्यक्ष गुरुङ, प्रमुख अतिथि काउन्सिलर गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए।
त्यस पश्चात नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन बजाउंदै उपाध्यक्ष श्रीमति बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमि देखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तब्य राखिन् ।
सल्लाहकार ले. थम प्रसाद गुरुङ, आमा समूह उपाध्यक्ष श्रीमति मथुरा गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ आदिले आफ्नो शुभकामना मन्तब्य राखेका थिए।
समाजले आफ्नो सदस्यहरू जसले अन्य संस्थाहरुमा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेका छन् उनीहरुको प्रशंसा गर्दै सम्मान गरेको थियो।
सम्मानित हुनेहरुमा घान्द्रुक समाज यूके अध्यक्ष नारायण सिंह गुरुङ, वा. के. ता. समाज लमजुङको अध्यक्ष सुव घले र हालै निर्वाचित गैर आवासीय नेपाली संघ यूके सदस्य काशीराम बोहोरा थिए ।
उनीहरुलाई तमु समाज यूके उपाध्यक्ष भिम बहादुर गुरुङ, काउन्सिलर कमल गुरुङ र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले फेटा र खादा लगाएर सम्मान गरे।
सम्मानकै क्रममा यस वर्ष तमुधिं यूकेद्वारा आयोजित १४ औं नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर लाग्ने कलाकार र अरू सदस्यहरुलाई उपाध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले खादाले सम्मान गरेका थिए ।
उक्त अवसरमा झाँकीमा प्रदर्शन गरिने आकर्षक घर तयार पार्ने सदस्य अमृत गुरुङ र गुमान सिंह गुरुङलाई पनि सम्मान गरियो।
त्यस्तै गरि सम्मानकै क्रममा यस वर्ष समाजलाई तन, मन र धन दिएर अहोरात्र खटिने पाँच व्यक्तित्वहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट समाज सेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो।
सम्मानित हुनेहरुमा सल्लाहकार सोलिसिटर राजु थापा, श्रीमति सूर्य कुमारी गुरुङ, श्रीमति मन कुमारी गुरुङ, श्रीमति लिल कुमारी गुरुङ र श्रीमति कुबिन्धरि गुरुङ थिए। उनीहरूलाई अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाण पत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरेका थिए।
सम्मानकै क्रममा समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ गैर आवासीय नेपाली सँघ यूकेको प्रमुख सल्लाहकार मनोनित भएकामा समाजको तर्फबाट उपाध्यक्ष भिम बहादुर गुरुङ र प्रमुख अतिथि काउन्सिलर कमल गुरुङले खादा र फेटा लगाई सम्मान गरे ।
यसैगरि निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र श्रीमति मिरा गुरुङको सुपुत्र संगम गुरुङले यूकेमा रहेर पनि मुई थाई जस्तो स्पोर्ट्समा उल्लेखनीय उपलब्धि हासिल गरी यस समाज मात्र होइन सिंगो नेपालीकै शीर उच्च पार्ने काम गरेको भन्दै समाजले खादा र फेटा लगाएर सम्मान गरेको थियो।
कार्यक्रमको अर्को चरणमा अध्यक्ष शिव कुमार गुरुङ, प्रमुख अतिथि काउन्सिलर कमल गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष भिम बहादुर गुरुङ र श्रीमति बिन्दु घले, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ आदिले संयुक्त रुपमा केक काट्ने र स्याम्पेन फोरेर खुशीयाली मनाएका थिए।
त्यस पश्चात महासचिव धरमबल गुरुङले कार्यक्रम सफल पार्न खटिने सदस्यहरु र केक, खाद्य तथा पेय पदार्थहरु प्रायोजन गर्नेलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा समाजकै नृत्यांङगना सुश्री सुमिना गुरुङले कार्यक्रमको मध्यान्तरमा ‘बन्दीपुरैमा…’ बोलको गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाइन् भने डिजे युवा सदस्य प्रज्वल गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपूर मनोरञ्जन लिए । रारा क्याटरिङले खाना व्यवस्थापन गरेको थियो ।
कार्यक्रम बेलुका ६ बजे शुरू भएर राति ११ बजे समापन भएको थियो। प्रमुख अतिथि काउन्सिलर र अध्यक्ष गुरुङले धन्यवाद मन्तब्य राखेपछि कार्यक्रम विधिवत रूपमा अन्त भएको थियो।
-नारायण सिंह गुरुङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५