शुक्रबार, पुष २६, २०८१
12:13 | १७:५८

लन्डनकी विमला मिसेस युनिभर्स प्रतिष्पर्धामा छनौट

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२३


लन्डन । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं मिसेस युनिभर्स २०२३ प्रतियोगितामा लन्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।

लन्डन फेसन हाउसले आइतबार ‘कोरोनेसन नाइट’ समारोहबीच मिसेस नेपाल युनिभर्स २०२२ की फष्ट रनर अप बुढाथोकीलाई मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।

बुढाथोकीलाई मनिषा डंगोल र मिसेस नेपाल युनिभर्स २०२२ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए ।


फिलिपिन्समा हुन गइरहेको ४६औं मिसेस युनिभर्स २०२३ मा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् । 

उपाधिसंगै बुढाथोकीलाई आगामी अक्टोबरमा हुने प्रतियोगिताका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसहित चुनौती पनि थपिएको छ । नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने उनले बताइन् ।


सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छंदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् ।

हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन्।

तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासंग पनि सहकार्य गर्दै आएकी छन् । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ । 


लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा मिसेस नेपाल युनिभर्सका पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ‘क्याटवाक’ गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन् ।

यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिष्पर्धा नगरिएको र प्रक्रियागत रुपमा नै आन्तरिक छनौट गरिएको आयोजक संस्थाकी मनिषा डंगोलले बताइन् । प्रतियोगिताले महिलालाई अघि बढ्ने क्षमता अभिवृद्धि गर्नुका साथै थप आत्मबल बढ्ने पनि उनको उनको धारणा थियो ।


‘प्रतियोगितामा सहभागिता जनाउन एवं हौसला प्रदान गर्न पुरुषको पनि उत्तिकै हात हुन्छ । मिसेस नेपाल युनिभर्सलाई यहाँसम्म ल्याउन घरपरिवारको उत्तिकै योगदान छ । म उहांहरुप्रति आभारी छु’- मनिषाले भनिन् ।

कार्यक्रम सफल पार्न विभिन्न माध्यमबाट सहयोग पुरयाउने सबैलाई धन्यबाद दिंदै उनले आफ्नो अभियानमा निरन्तर सहयोग गर्न आग्रह पनि गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू