स्वच्छ हाँसो
(सम्पूर्ण बच्चाहरुमा समर्पित)



सरिता ढकाल
कुन ठाउँमा पाइन्छ ? यस्तो कला झिकाइदेउन,
कस्तो स्वच्छ हाँसो तिम्रो यस्तै हाँस्न सिकाइदेउन।
जन्मँदा सबै तिमी जस्तै हुन्छन्, सहज हुन्छन्, मस्त हुन्छन्
रहरहरु झिक्दै जान्छन्, कृत्रिम बन्न सिक्दै जान्छन्
बेफिक्री भै संसारमा, रम्दै बाँच्न सिकाइदेउन
कस्तो स्वच्छ हाँसो तिम्रो, यस्तै हाँस्न सिकाइदेउन।
कथित ज्ञान बढ्दै जान्छ, सांसारिक पन चढ्दै जान्छ,
आकांक्षाले घेरा हाल्छन्, भावना पर सर्दै जान्छ,
बुद्धत्वलाई टाढा लाने, अहंकार मास्न सिकाइदेउन
कस्तो स्वच्छ हाँसो तिम्रो, यस्तै हाँस्न सिकाइदेउन।
प्रकृति ओझेल पर्दै, कंक्रिटले घेर्न थाल्छन्
माया मोह ममताका भाव साङ्ग्लोले बेर्न थाल्छन्,
फेरि पनि फूलसंग प्रीति गाँस्न सिकाइदेउन,
कस्तो स्वच्छ हाँसो तिम्रो, यस्तै हाँस्न सिकाइदेउन।
हिजो के भो चाह छैन, भोलि के छ थाहा छैन,
रिस, राग, डर, चिन्ता केहि पनि पर्वाह छैन,
वर्तमान मै मग्न हुँदै, झुम्दै नाच्न सिकाइदेउन
कस्तो स्वच्छ हाँसो तिम्रो यस्तै हाँस्न सिकाइदेउन।
(कवयित्री ढकाल सपरिवार डार्टफोर्ड, यूकेमा बस्छिन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५