शुक्रबार, पुष २६, २०८१
19:24 | ०१:०९

प्रधानमन्त्री प्रचन्ड अमेरिकातर्फ, के के छन् कार्यक्रम ?

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२३

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्।

उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका हुन्।

उनलाई सफल यात्राको शुभकामना दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक नियोगका प्रमुख र नेपाल सरकार विशिष्ट व्यक्तित्व पुगेका थिए। 

आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्। 

प्रधानमन्त्री महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

अमेरिकामा रहँदा उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नेछन्।

त्यस्तै, उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्ने मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथ उनकी छोरी गंगा दाहाल, परराष्ट्रसचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य पदाधिकारी सहभागी छन्।

परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिकातर्फ प्रस्थान गरिसकेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू