शनिबार, पुष २७, २०८१
02:53 | ०८:३८

सिड्नीका आइटी विज्ञ गिरीको उपमहासचिवमा उम्मेद्वारी घोषणा

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२३


सिड्नी – एनआरएनए युवा अभियन्ता कृष्ण गिरीले अक्टोबरमा हुन गइरहेको गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

गिरी २०१५ मै युवा संयोजकका प्रत्यासी भएका थिए भने २०१७ र २०१९ मा सचिव पदमा उम्मेद्वारी दिने तयारी गरी अन्तिम समयमा उम्मेद्वारी फिर्ता लिएका थिए । सन् २०२१ मा उनी एनआरएनए मिलाउन सक्रिय थिए ।

आफनो अनुभव, दक्षता र  विज्ञतालाई संस्थाको पदीय जिम्मेवारीमा बसी योगदान गर्न सकिने विश्वासका साथ नयां सोच र जोश सहित संस्थाको रुपान्तरणका लागि आफनो उम्मेद्वारी रहेको गिरीले बताए । नेपाली डायसपोरामा काम गर्नका लागिनै उपमहासचिव पदमा उम्मेद्वारी दिने निश्कर्षमा पुगेको उनले बताए ।

सन २०१३ मै एनआरएनए आइसीसीको कार्यवाहक युवा संयोजक भएर काम गरेका उनले प्रवासमा रहेको दोश्रो पुष्तालाई नेपाल र नेपालीसंग जोडन गरेको “१ डलर १ कापी र कलम” परियोजनाले त्यसताका निक्कै चर्चा पाएको थियो ।

एनआरएनएमा बोल्ने भन्दा बढी काम गर्ने पहिचान बनाएका गिरीले एनआरएनए एनसीसी अष्ट्रेलियाको कार्यसमिति सदस्य, सल्लाहकार, आइटी संयोजक, एनआरएनए आइसीसी सातौं क्षेत्रीय सम्मेलनको सफल आयोजना, सिड्नी नेपाल फेस्टिभल आयोजना, एनआरएनए भवन निर्माणमा आर्थिक संकलन, सामाजिक कल्याण कोष स्थापना तथा आर्थिक संकलन लगायतका परियोजनामा उल्लेखनीय कार्य सम्पादन गरेका थिए ।


गिरीले सन् २०११ देखि निरन्तर आइसीसी र एनसीसीका विभिन्न समितिमा बसेर काम गर्दै आएका छन् । हाल अन्तर्राष्ट्रिय झापाली समाजको सल्लाहकार समेत रहेका उनी झापाली समाज अष्ट्रेलियाका संस्थापक पनि हुन्। बिद्यार्थी जीवनदेखि नै राजनीतिमा जोडिएका गिरीसंग त्रिचन्द्र क्याम्पस स्ववियूमा काम गर्दै जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्ष समेत भएर कार्य सम्पादन गरेको अनुभव छ ।

१० वर्ष भन्दा बढि समय नेपाली भिजन अष्ट्रेलियाको प्रकाशक एवं सम्पादक भएर कार्य गरेको अनुभव संगालेका गिरी  डिजिटल टेक्नोलोजी एवं आइटीका जानकार हुन् । अष्ट्रेलिया राज्य सरकारको शिक्षा विभागमा आइटी स्पेसलिष्टका रुपमा कार्यरत गिरीले कोभिडका बेला प्रवासमा रहेका नेपाली समुदाय र अभियन्ताहरुलाई टेक्नोलोजिका माध्यमबाट जोडन भूगोलले छेक्दैन भन्ने अभियानमा समेत चलाएका थिए ।

गैरआवासीय नेपाल संघमा नेपाल सरकार, राजनीतिक दल र नेताहरुसंग मिलेर “नेपालीका लागि नेपाली” नारा सहित काम गर्नुपर्ने वास्तविकतालाई नजिकबाट बुझेका इन्जिनियर कृष्ण गिरीले आफू निर्वाचित भएमा संस्थाको आन्तरिक सुधार र नीतिगत क्षेत्रमा थप उर्जा सहित काम गर्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू