बिहीबार, पुष २५, २०८१
20:14 | ०१:५९

बेलायतमा ‘गंगाराज राई एकल साँझ’ को तयारी अन्तिम चरणमा  

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२३

लन्डन । आगामी अक्टुबर ७ तारिख हुन गइरहेको गायक ‘गंगाराज राई एकल साँझ’ सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली कला साहित्य मञ्च यूकेको आयोजनामा आसफोर्ड केन्टस्थित सेन्ट साइमन हलमा सगरमाथा गोर्खा नेपाली कम्युनिटी आसफोर्ड र नेपाली कलाकार प्रस्तोता समाज बेलायतसँगको संस्थागत सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो  ।

आफ्नो सांगीतिक यात्राको दुई दशक पूरा गरेको अवसरमा गायक राईको एकल साँझ गर्न लागिएको हो । कार्यक्रममा गायक राईका लोकप्रिय गीतहरु प्रस्तुत गरिनुका साथै कार्यक्रम थप आकर्षक बनाउन लाइभ ब्याण्डको टोली सहभागी हुने भएका छन् ।

जीवन्त वाद्यबाधक टोलीमा सांगीतिक समूह प्राज्ना ब्याण्ड रहने भएको छ भने बेलायती मूलका आठ जना वाद्यबाधक सांगीतिक समूहले वुडवीन्ड र भाइलनमा साथ दिनेछन्  ।

कार्यक्रमको लाइभ बाद्यबादकहरुमा प्रसिद्ध संगीतकार गणेश गुरुङ (हार्मोनियम- किबोर्ड), महेश गुरुङ (तबला), थिर थापा (हार्मोनियम -किबोर्ड), ईन्द्र गुरुङ (बाँसुरी- सेक्सोफोन), रेसम पाचे (ढोलक-मादल), शुरज गुरुङ (लीड गितार), विकल थापा (रिदम गितार), होइशेर तामाङ (बास गितार) र प्रभास गुरुङ (ड्रम) र संगीत निर्देशकको रुपमा पपिराज राई छन् ।

पूर्वी नेपालको माँझ किरात भोजपुर जिल्लामा जन्मिएका राई सन् २०१० देखि बेलायतमा बस्दै आएका छन् । वि.सं २०६४ मा रेडियो नेपालको आधुनिक गीत गायनमा स्वर परिक्षा पास गरेका राईले वि.सं २०५८ सालमा आफ्नै शब्द र संगीतमा ‘माया पायौ कि अरुलाई दियौ’ बोलको पहिलो गीत रेकर्ड गरे ।

गायक राईका ‘कहाँबाट सुनाऊँ म’, ‘दिन छैन तिमीलाई नसम्झेको’, ‘यस्तो एउटा संसार खोज्न’, ‘हिजो थियौ तिमी मेरी’ आदि श्रोताले रुचाएका गीत हुन् । उनका सय भन्दा बढि गीत रेकर्ड भैसकेका छन् ।

कार्यक्रम सफल पार्न बेलायतस्थित विभिन्न संघसंस्था तथा व्यवसायीहरुले सहयोग प्रदान गरेको कार्यक्रम संयोजक डा. अनिल राईले बताए । यस किसिमको कार्यक्रमले संगीत साधकलाई प्रेरित गर्ने उनको धारणा छ ।

आयोजकले कार्यक्रममा सहभागी हुन सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू