शुक्रबार, पुष २६, २०८१
23:22 | ०५:०७

भूतपूर्व गोर्खा समस्या समाधानका लागि भारत र बेलायतसँग छलफल

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर- रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले गोर्खा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिसको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरुलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताएका हुन् ।

यो विषय सबै नेपालीहरुको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको उनले उल्लेख गरे ।

उनले भूतपूर्व गोर्खा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्नसक्ने मुद्दा नभएर द्विपक्षीय एवं बहुपक्षीयरुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताए । उनले भने, ‘पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिसको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, विस्तार र सेवामा समर्पित गोर्खालीहरुलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन सकेन । दिलाउन सकेको पनि छैन । यो हामी सबै नेपालीहरुको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको छ ।’

उनले गोर्खालीहरुले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरुलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकाले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा छलफल गरिरहेको बताए ।

उनले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे ।

‘गोर्खालीहरुले ब्रिटिस राज्यको हितमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे तर ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरुलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा जे जति विद्यमान छ, त्यो सिंगो देशको सरोकार र दायित्वको विषय हो । अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समान व्यवहार र श्रमको उचित मूल्य र जुन स्तरको आत्मसम्मान हो त्यो पाउन सकेका छैनन् । भूतपूर्व गोर्खा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्नसक्ने मुद्दा नभएर द्विपक्षीय एवं बहुपक्षीयरुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्धा हो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले गोर्खा सैनिक समस्या समाधानका लागि सरकार जिम्मेवारपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसाग गोर्खा सैनिकको मुद्दाका बारेमा गम्भीररुपमा प्रश्न उठाउने गरेको बताए ।

प्रधानमन्त्रीले नेपाल–भारत–बेलायतबीच भएको त्रिपक्षीय सन्धिमा गोर्खाहरुमाथि २०८ वर्षदेखि समान व्यवहार नभएको कुरालाई दृष्टिगत गरि समान कामको समान ज्याला दिलाउन सरकारले काम गरिरहेको बताए । इकान्तिपुर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू