शनिबार, पुष २७, २०८१
18:35 | ००:२०

लन्डनमा किताव जात्रा, पाठक घटेको भन्दै साहित्यकारहरु चिन्तित

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२३

लन्डन – प्रवासमा क्रियाशील नेपाली साहित्यकारहरुले सामाजिक संजालको विकाससंगै पाठकहरुमा पुस्तक किनेर पढ्ने अभिरुचि घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

दक्षिण पूर्वी लन्डनमा किताव जात्रा फेस्टिवलको अवसरमा आयोजित एक अन्तरक्रियामा बोल्दै बेलायतमा बसोबास गर्ने साहित्यकार बाशु शर्माले प्रवासमा रहेका साहित्यकारहरुले प्रकाशन, वितरण र पाठकको समस्या व्यहोरिरहेको बताए। उनले बेलायतमा मात्रै १५ वटा साहित्यिक संघसंस्था क्रियाशील रहेको र तिनले विभिन्न कार्यक्रम गरेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुराइरहेको जनाए।

बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीले आफूले प्रकाशन गरेका अडियो बुकहरु लोकप्रिय रहेको भएपनि प्रवासमा हुर्कंदै गरेको नयाँ पुस्तासम्म नेपाली साहित्य कसरी पुराउने भन्ने मुख्य चुनौती रहेको बताए। 

त्यस्तै यती नेपाली एसोसिएशनका पूर्व अध्यक्ष ध्रुव केसीले भाषा र साहित्यको संरक्षण घरबाटै शुरु गर्नु पर्ने बताउंदै विदेशमा जन्मेर हुर्की रहेका नाती, नातिनालाई नेपाली बोल्न र लेख्न सिकाउन अलि गाह्रो भैरहेको बताए। 

अंग्रेजी तथा नेपालीमा गरी हाल सम्म १० ओटा पुस्तक प्रकाशन गरिसकेका युवा साहित्यकार गोपी सापकोटाले देश छाडेर विदेशमा बस्दाको पीडा डायस्पोरा साहित्यमा झल्कने गरेको बताए। 

नेपाली साहित्य विकास परिषदकी सहअध्यक्ष डा. सुधा शर्माले प्रवासमा बसेर अझ बढी नेपाली साहित्यको सेवा र न्याय गर्न सकिने बताइन्। उनले नेपालीसंगै अन्य भाषाहरुको उत्थानमा पनि ध्यान दिन आग्रह गरिन्।

उक्त सत्रको संचालन वरिष्ठ संचारकर्मी टिकाराम यात्रीले गरेका थिए।

त्यस्तै ‘प्रवासमा उद्यमशीलता’ शिर्षकको सत्रको संचालन किताब जात्रा फेस्टिवलका निर्देशक ऋषि राम अधिकारीले गरेका थिए। 


उक्त सत्रमा बोल्दै काठमाडौँ स्थित द ब्रिटिश कलेजका निर्देशक राजेन कडेलले नेपालमा गैर आवासीय नेपालीहरुका लागि लगानीका थुप्रै सम्भावना रहेको बताए।

उनले पढाइसंगै काम गर्ने अवसर र पीआर पाउने आशामा ठूलो संख्यामा नेपाली युवा विदेश गैरहेको भन्दै नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए। 

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट कृष्ण प्रसाद दाहालले बेलायतमा तीन घण्टामा अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने बताउंदै नेपालमा कम्पनी दर्ता गर्ने प्रक्रिया लामो र खर्चिलो भएको बताए।

नेपाली मिडियाका वर्तमान चुनौती शिर्षकको सत्रमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगीले संचारकर्मी टिकाराम यात्रीसंग छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले हाम्रो पहिचान भनेकै आफ्नो भाषा, संस्कृति र कला भएको बताए। 

उनले नेपाली साहित्य अत्यन्तै धनी रहेको र विश्व साहित्यका विभिन्न विधामा पनि योगदान दिइरहेको बताउंदै प्रवासी नेपाली साहित्य र नेपाल भित्रको साहित्यलाई कसरी अन्तरघुलन गराउन सकिन्छ, त्यसतर्फ प्रयास गर्न आग्रह गरे।

बेक्स्ली नेपाली कम्युनिटीका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले शुभकामना दिएका थिए भने नेपाली साहित्य विकास परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले स्वागत गरेका थिए।

विभिन्न संघसंस्थाका प्रतिनिधि तथा साहित्यकार समेत  झन्डै २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालबाट ल्याइएका विभिन्न पुस्तक पनि प्रदर्शन गरिएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू