लन्डनमा सम्पन्न भयो १४औं नेपाली मेला, यसपटक झन् बढी सहभागिता (तस्विरहरु)


लन्डन। बेलायतमा वर्षेनी आयोजना हुने नेपाली मेलाको चौधौं संस्करण हेर्न बेलायतवासी हजारौं नेपाली भेला भएका छन्।
लन्डनको केम्पटन पार्क रेसकोर्समा आइतबार आयोजित मेलामा करिब सात हजार दर्शक सहभागी बनेको आयोजक तमुधिं यूकेले जनाएको छ। मेलामा कोभिडपछि पहिलोपटक यति ठूलो सहभागिता देखिएको हो ।
‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ तमुधिं यूकेले नेपाली दूतावास लन्डनको सहकार्यमा मेला गरेको थियो।
मेलामा बेलायतस्थित विभिन्न दुई दर्जन बढी नेपाली संघसंस्था र समुदायका तर्फबाट आफ्ना संस्कृति, कला, परम्परा झल्काउने आकर्षक सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।
मेलास्थलमा राखिएका नेपाली खाना, पोशाक, गरगहनासहित विभिन्न व्यापार र च्यारिटीका तीन दर्जन बढी स्टलमा पनि दर्शक रमाएका थिए।
मेलामा नेपाली राष्ट्रिय तथा जातीय एवम् सांस्कृतिक पोशाकमा सजिएर आएका हजारौं नेपाली एकठाउँमा भेला भएको दृश्य साँच्चीकै सुन्दर देखिन्थ्यो । मेलाका सहभागी नौमति बाजामा नाच्दै, जातीय तथा सांस्कृतिक पहिरनमा सजिएर मौलिक बाजा बजाउँदै नाचगानमा रमाइरहेको देख्दा बेलायतमै नेपाल महशुस गर्न सकिन्थ्यो।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य थिए।
सो अवसरमा सांसद खामवीर गर्बुजा, बेलायतस्थित बंगलादेश र श्रीलंकाका कुटनीतिक प्रतिनिधि, बेलायतका विभिन्न काउन्टी तथा बरोका मेयर तथा काउन्सिलरहरु, विभिन्न बेलायती च्यारिटी तथा समुदायका प्रतिनिधिलगायतका विशिष्ट अतिथिको सहभागिता रह्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान, संस्कृति र परम्परालाई बिर्सिन सक्दैनन भन्ने सन्देश मेलाले दिएको बताए । नेपाली संस्कृति, कला, भेषभूषा र परम्परालाई प्रवर्धन गर्दै आपसी सद्भाव र भाइचारा बढाउनसमेत मेलाले योगदान गरेकोमा उनले प्रशंसा गरे।
एनआरएनए केन्द्रीय अध्यक्ष कुल आचार्यले बेलायतको नेपाली मेलाले नेपालबाहिर पनि नेपाल बनाउने काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित सबै नेपालीबीचको सद्भाव बढाउने र नयाँ पुस्तालाई नेपाली संस्कृतिसंग नजिक गराउने मेलाको प्रमुख लक्ष्य रहेको उल्लेख गरे।
मेलामा सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुतितर्फ सर्वोत्कृष्ट बन्दै किरात राई यायोख्या यूकेले ११ सय पाउण्ड नगदसहित एम्बासडर कप जित्यो । विजेता संस्थालाई तीन सय पाउण्ड नगदसहित एनआरएनए कप पनि प्रदान गरियो ।
त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने घान्द्रुक समाज यूके र पासा पुचः गुथि यूकेले क्रमशः सात सय र पाँच सय पाउण्ड नगदसहितका पुरस्कार प्राप्त गरे।
झाँकीतर्फ किरात राई यायोख्याले प्रथम, पासा पुचः गुथिले दोस्रो र घान्द्रुक समाज यूकेले तेस्रो स्थान हासिल गरे । नृत्यतर्फ घान्द्रुक समाज यूके प्रथम र किरात राई यायोख्खा दोस्रो भए। दुवै विधामा पहिलो हुनेले सात सय, दोस्रोले पाँच सय र तेस्रोले तीन सय पाउण्ड नगदसहितको पुरस्कार प्राप्त गरे।
मेलामा यसपटक शुरु गरिएको दुई सय पाउण्ड नगदसहितको प्रेसिडेन्ट च्वाइस पुरस्कार पासा पुचः गुथि यूकेले पायो।
निर्णायकको भूमिका साहित्यकार एकेन्द्र गुरुङको संयोजकत्वमा संगीतकार विक्रम गुरुङ, कलाकार माओत्से गुरुङ, ताराबहादुर गुरुङ, डा प्रमोद कोयी राई, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नृत्यकार बालकाशी गुरुङ र नायिका रजनी गुरुङले निर्वाह गरेका थिए।
मेलामा सगरमाथा आरोहण गर्ने किर्तीमानी आरोही हरि बुढामगर र आरोही नायिका दिया पुनलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए भने मेला संयोजक उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको सांस्कृतिक सत्र योगेश गुरुङ, सूर्य गुरुङ,सपन रोका मगर, शिवानी गुरुङ र भाविका लोप्चनले चलाएका थिए।
तस्विरः मिलन तमु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५