जापान र अमेरिकासँग सुरक्षा सहकार्य बढाउन दक्षिण कोरिया इच्छुक



दक्षिण कोरिया र अमेरिकी सेना संयुक्त अभ्यासका क्रममा । तस्बिर एपी
सोल— दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न कोरिया, जापान र अमेरिकाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।
क्याम्प डेभिडमा हुने आगामी शिखर वार्ताका सन्दर्भमा दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको आणविक जोखिमलाई सम्बोधन गर्न अमेरिका र जापानसाग गहन सुरक्षा सहयोगको अपरिहार्य भएको बताउँदै अमेरिकी र जापानी नेतासँगको शिखर सम्मेलन त्रिपक्षीय सहयोग प्रवर्धनमा नयाँ कोसेढुंगा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
उत्तर कोरियाको बढ्दो आणविक हतियार परीक्षण र चीनले लागू गरेको आक्रामक विदेश नीतिको सामना गर्न तीनवटै देशले पारस्परिक सम्बन्धलाई सुदृढ बढाउन क्याम्प डेभिडमा त्रिपक्षीय शिखर सम्मेलन गर्न लागेका हुन् ।
बाइडेन प्रशासनका दुई जना वरिष्ठ अधिकारीका अनुसार आगामी शुक्रबार अमेरिकी राष्ट्रपतिको मेरिल्याण्डस्थित विश्रामगृहमा हुने शिखर सम्मेलनमा राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली राष्ट्रपति युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले ब्यालिस्टिक मिसाइल प्रतिरक्षा र प्रविधि विकासमा विस्तारित सैन्य सहयोगको योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।
‘क्याम्प डेभिडमा तीन दिनपछि हुने गणतन्त्र कोरिया–अमेरिका–जापान शिखर सम्मेलनले कोरियाली प्रायद्वीप र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पुरयाउने त्रिपक्षीय सहयोगमा नयाँ कोसेढुंगा कायम हुनेछ,’ स्वतन्त्रता दिवसका अवसरमा मंगलबार प्रसारित एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति युनले भने ।
सन् १९४५ मा जापानको ३५ वर्षे औपनिवेशिक शासनबाट मुक्त भएको आफ्नो मुलुकलाई लिएर विगतमा दक्षिण कोरियाका राष्ट्रपतिले जापानको आलोचना गर्ने गरेकामा राष्ट्रपति युनले आपसी सहयोग बढाउने विषयलाई मुख्य मुद्दा बनाएका हुन् ।
उनले जापानलाई आफ्नो औपनिवेशिक गल्तीको लागि माफी माग्न आग्रह गरेनन् बरु सोल–वासिङ्टन र टोकियोबीचको सहयोगलाई बढावा दिने र सम्बन्ध सुधारका विषयलाई प्राथमिकता दिए ।
कोरिया र जापानबीच सुरक्षा तथा अर्थतन्त्रमा हुने सहकार्य र साझेदारीले विश्व शान्ति र समृद्धिमा संयुक्तरूपमा योगदान गर्नसक्ने बताउँदै कोरियाली राष्ट्रपतिले त्रिपक्षीय सुरक्षा सहयोगको महत्व निरन्ततर बढिरहेको बताए ।
विगतका सबै वैमनस्यलाई बिर्सेर दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले जापानलाई आफ्नो देशको मूल्यमान्यता र साझा हित प्रवर्धन गर्ने साझा ‘साझेदार’ का रुपमा चित्रण गरेका छन् ।
औपनिवेशिक कालमा कोरियाली प्रायद्वीपमा जापानको क्रूर व्यवहार यौन दासत्व र जबरजस्ती श्रमजस्ता ऐतिहासिक मुद्दामा लामो समयदेखि दक्षिण कोरिया र जापानबीच विवाद भएका थिए । तर, अहिले उत्तर कोरियाले सृजना गरेको चुनौतीका कारण दुवै देश आपसी साझेदारी र सहकार्यका निम्ति अग्रसर भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५