पाकिस्तानको बाजौर विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो



घट्नास्थलमा प्रहरी । तस्बिर एएफपी
इस्लामावाद, पाकिस्तान, १५ साउन–पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको प्रान्तका स्वास्थ्य मन्त्रीले सोमबार जानकारी गराएका छन् ।
रियाज अनवरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार विभिन्न अस्पतालमा उपचारको क्रममा नौ जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या वृद्धि भएको हो ।
बम विष्फोटमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएको र तीमध्ये १०० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको मन्त्रीले जानकारी दिए ।
घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गर्दै अनवरले सबै गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत प्रान्तीय राजधानी पेशावर लगिएको बताए ।
जिल्लाको मुण्डा खार सडकको शान्ते मोर क्षेत्र नजिकै जमीयत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को राजनीतिक भेलाका क्रममा एक आत्मघाती आक्रमणकारीले आफ्नो ज्याकेटमा राखिल्याएको विस्फोटक पदार्थ विस्फोट गराएको प्रहरीले जनाएको छ ।
आक्रमणमा भेलामा आएका केही उलेमा–ए–इस्लाम–फजल समर्थक नेता तथा कार्यकर्तासहित केही सर्वसाधारणसमेतको हताहती भएको थियो । उक्त आक्रमणमा एक स्थानीयस्तरका उच्च नेताको समेत मृत्यु भएको थियो ।
आक्रमणको जिम्मेवारी सोमबार यो समाचार तयार पार्दासम्म कुनै व्यक्ति वा समूहले लिएको छैन । उक्त क्षेत्रमा यस पहिले पनि उक्त दलको कार्यक्रमलाई लक्षित गरी स्थानीय इस्लामिक स्टेट (आइएस) ले आक्रमण गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५