ईयूले नाइजर विद्रोहलाई मान्यता नदिने, सहयोग रोक्का



राष्ट्रपति मोहम्मद बाजुमका समर्थकहरु विद्रोहको विरुद्ध प्रदर्शन गर्दै । तस्बिर- एएफपी
ब्रसेल्स, १३ साउन–यूरोपेली सङ्घ (ईयू)ले नाइजर विद्रोहलाई मान्यता नदिने बताएको छ ।
ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र जिहादी प्रभावित देश नाइजरसँगको सुरक्षा सहयोग स्थगन गर्ने शनिबार घोषणा गरेको हो ।
सन् २०११ देखि नाइजरको राष्ट्रपतिको नेतृत्व गर्दै आएका जनरल अब्दुरामाने चियानीले शुक्रबार राष्ट्रिय टेलिभिजनमा आफूलाई समस्याग्रस्त पश्चिम अफ्रिकी देशको प्रमुख घोषणा गरेका थिए ।
अफ्रिकाको साहेल क्षेत्रमा भएको पछिल्लो ‘कू’ मा राष्ट्रपतिको सुरक्षा गार्डले लोकतान्त्रिक विधिबाट निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएको थियो र उहाँलाई बुधबार राजधानी नियामीस्थित उनको सरकारी निवासमा थुनेको थियो ।
छिमेकी मुलुक माली र बुर्किना फासोले पनि सन् २०२० देखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूको लामो समयदेखि चलेको विद्रोहविरुद्ध लडिरहेका बेला दुई पटक सैन्य ‘कू’ गरेका छन् ।
“ईयूले नाइजरका अधिकारीहरूलाई मान्यता दिँदैन,” युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ जोसेप बोरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले भनेका छन्, “सुरक्षा क्षेत्रमा हुने सबै सहयोग तत्काल प्रभावकारी हुनेगरी अनिश्चितकालका लागि स्थगन गरिएको छ ।
नाइजरका वैध राष्ट्रपति बाजुमलाई तत्काल रिहा र उनी तथा परिवारको सुरक्षाका लागि ‘कू’ मा सहभागी सैनिक नेताहरूलाई जिम्मेवार ठहरयाउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बोरेलले पश्चिम अफ्रिकाको क्षेत्रीय ब्लकले लिने भावी निर्णयलाई समर्थन गर्न ईयू तयार रहेको बताएका छन् ।
नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका नेताहरूले आइतबार अबुजामा बैठक गर्ने बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५