नटिङ्घम शहरमा २४ जुलाईमा नेपाली मेला गर्ने तयारी
लन्डन । नेपाली समाज नटिङ्घम इष्टमिड्ल्याण्डले आगामी २४ जुलाई सोमबार नेपाली मेला गर्ने तयारी गरेको छ ।
नटिङ्घमको मेलवन पार्कमा समर आउटिङ तथा नेपाली फेस्टिभल गर्ने तयारी भएको हो ।
फेस्टिभलमा मिड्ल्याण्डस्तरिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, चुङ्गी, घैंटो फुटाउने जस्ता आकर्षक खेल समेत समावेश गरिने समाजका अध्यक्ष रवीन्द्र शर्माले जनाए ।
सोही मेलामा चर्चित राष्ट्रिय कलाकारहरु लोक दोहोरीका वादशाह राजु परियार र लोकदोहोरी गायिका शिला आले सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। मेलामा मिड्ल्याण्ड र यूकेभरिबाट कम्तीमा चारहजार बढीको उपस्थिति अपेक्षा गरिएको छ ।
सो कार्यक्रममा विभिन्न एक दर्जन बढी नेपाली खानाका स्टल, दर्जन संख्यामा अन्य नेपाली पोशाक र गरगहनाका स्टलहरु, नेपाली ब्यवसायीहरुका अकाउण्ट सम्बन्धी स्टलहरु, नेपाली सोलिसिटर तथा कानूनी परामर्शदाताका स्टल र जीवन वीमा सम्बन्धी स्टलहरु रहने छन्।
मेला अवधिभर प्यारामेडिक र आपतकालिन सेवा, एम्बुलेन्स पनि ब्यवस्था रहनेछ ।
नेपाली समाज नटिङ्घम अध्यक्ष शर्माले मेलामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय मेयर तथा काउन्सिलर, मिड्ल्याण्डका स्थानीय संघसंस्थालाई समेत आतिथ्यका लागि पत्राचार गरिसकिएको बताए ।
नेपाली समाज नटिङ्घमले हरेक वर्ष समरमा आउटिङ कार्यक्रम अन्तर्गत सामूहिक समुद्री यात्रा आयोजना गर्दै आएको छ । संस्थाका अध्यक्ष शर्माका अनुसार सी साइड ट्रिपमा झण्डै तीनसय पचास हाराहारीमा सहभागिता हुने गरेको थियो । तर, यसपटक उल्लेख्य सहभागितासहित थप रोचक कार्यक्रम गर्न लागिएको शर्माले जनाए ।
लन्डन लगायत बेलायतका अन्य शहरमा नेपाली मेला र यस प्रकारका इभेन्ट धेरै भएपनि नटिङ्घम, मिड्ल्याण्डवासी र नटिङ्घम नेपाली समाजको इतिहासमा भने यो फरक र भब्य कार्यक्रम हुने अध्यक्ष शर्मा बताउंछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५