शनिबार, पुष २७, २०८१
08:46 | १४:३१

बेलायती संसदबाट शुरु भयो नेपालमा बाल अस्पताल बनाउने परियोजना

नेपाली लिङ्क जुलाइ ५, २०२३

 लन्डन – ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन आग्रह गरेका छन्।

ब्रिटेनको ऐतिहासिक ब्रिटिश संसदस्थित आफ्नै कार्यालयमा मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै सभामुख होयलले बेलायतमा कार्यरत चिकित्सक प्रा सत्येन राजभण्डारीले आफूलाई डा. भगवान कोइरालाबारे बताएपछि निकै प्रभावित भएको बताए । 

नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउंदै सभामुख होयलले आफू मधुमेहको बिरामी रहेको र प्रा राजभण्डारीले आफ्नो ज्यान बचाएको स्मरण गरे ।

उनले डा कोइरालाले नेपालमा सार्वजनिक अस्पतालहरुको सफल व्यवस्थापन गरेको भन्दै कोइराला अध्यक्ष रहेको  काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) को सफलताको कामना पनि गरे। 


सोही समारोहलाई सम्बोधन गर्दै डा कोइरालाले नेपालमा  गएको केही दशक यता स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आएको बताए ।

‘नेपालमा गत  १५-२० वर्षमा बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएपनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेकाले बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्नहामीले यो अभियान शुरु गरेका हौँ,’ उनले भने ।  

नेपालमा झन्डै ३२ हजार चिकित्सक दर्ता रहेको तर ती मध्ये बाल विशेषज्ञको संख्या केवल ७८१ रहेको उनले बताए।  ‘हामीले बाल विशेषज्ञ मात्रै होइन पारामेडिक र नर्सहरुको उत्पादन पनि गर्नु पर्नेछ, उनीहरुलाई प्रशिक्षित गर्नु पर्नेछ। देशै भरि सेवा विस्तार गरेपछि मात्रै हामीले बाल मृत्युदर घटाउन सक्छौं,’ उनले भने। 

डा कोइरालाले पूर्वान्चलको दमकमा बाल अस्पताल निर्माण गरी सेवापनि शुरु भइसकेको र  काठमाडौँको हेपाली हाइटमा सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडि बढिरहेको बताए ।

उनले अन्य प्रदेशहरुमा पनि बाल अस्पताल निर्माणका लागि कुराकानी भइरहेको जानकारी दिए ।

‘सरकारले मात्रै यो काम सम्पन्न गर्न सक्दैन। उसका अरु प्राथमिकताहरु पनि छन्। त्यसैले यो अभियानमा खास गरी बेलायतमा रहनु भएका नेपालीहरुलाई मन खोलेर सहयोग गर्न म हार्दिक आग्रह गर्दछु,’ उनले भने ।


उक्त समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली बालबालिकालाई  गुणस्तरीय स्वास्थ्य सेवा पुराउन डा कोइरालाले शुरु गरेको अभियानको प्रशंसा गरे । 

उनले बालबालिका हाम्रा भविष्य हुन् भन्दै नेपाल सरकार, निजी क्षेत्र तथा समुदायको सामूहिक सहयोग परिचालन गरेर अस्पताल संचालन गर्ने यो अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए ।

बेलायतमा दर्ता भएको गैर सरकारी संस्था हेल्थ एक्सचेन्ज नेपालका संस्थापक प्रा सत्येन राजभण्डारीले आफ्नो संस्थाले नेपालमा महाभूकम्प र कोभिड १९ को बेला पनि सहयोग परिचालन गरेको स्मरण गरे ।

उनले डा कोइराला र साथीहरुले शुरु गरेको बाल अस्पताल निर्माण अभियानलाई सक्दो सहयोग गर्न सबैलाई अपिल पनि गरे।


कार्यक्रममा ब्रिटिश सांसद वीरेन्द्र शर्मा, बेलायतमा कार्यरत नेपाली चिकित्सक, व्यवसायी तथा उद्यमीहरुको उल्लेख्य उपस्थिति थियो।  

कियोच नेपालले सातै प्रदेशमा निर्माण गर्ने लक्ष लिएको विशिष्टीकृत बाल अस्पताल परियोजनाका लागि सहयोग जुटाउन डा. कोइराला सोमबार बेलायत आइपुगेका हुन् ।

उनी आगामी शनिबार अल्डरशटमा आयोजना गर्न लागिएको एक च्यारिटी डिनरमा पनि सहभागी हुनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू