शनिबार, पुष २७, २०८१
08:52 | १४:३७

सुधारको अठोटसहित एनआरएनए यूके अध्यक्ष रेसमा बौद्धिक उम्मेद्वार दिनेश

नेपाली लिङ्क जुलाइ ४, २०२३

लन्डन । यतिखेर विखण्डित छ बेलायतको नेपाली डायष्पोरा । खासगरि समानान्तर दुई एनआरएनए यूकेका कारण नेपाली विभाजित भइरहंदा विखण्डन कम गरि सामाजिक एकता कायम गराउने मुख्य उद्देश्य लिएर चुनावी मैदानमा होमिएका छन् दिनेश घिमिरे ।

एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी घिमिरे जति सालिन, वौद्धिक र अनुभवी छन्, त्यो भन्दा बढी सकारात्मक सोच उनमा छ ।

‘सामाजिक सेवा गर्न विरोधीहरुसंग सहकार्य गरौं । संस्था खोल्ने जुट्न हो, फुट्न होइन’- उनी भन्छन् ।

आफनो अस्तित्व जोगाउन पनि मेलमिलाप नीति अंगीकार गरेर अगाडि बढ्ने अठोटका साथ उनी यतिखेर मतदातासमक्ष पुगेका छन् । चुनाव भड्किलो गर्न र अन्य उम्मेदवारलाई अपमान गरेर आफूमात्र राम्रो बन्न उनले कहिल्यै चासो दिएनन्।

‘मैले एनआरएनए बुझेको छु, मलाई यसको लिमिटेसन थाहा छ, म मिडिया र टेक्नोलोजी फ्रेण्डली छु त्यसकारण संस्थाको नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास छ’, उनले आफ्नो उम्मेदवारीबारे प्रष्टयाए ।

बेलायतको गोर्खा कम्युनिटी र सिभिलियनसंग मिलेर काम गर्ने उनको योजना छ । वंशजको नागरिकता सम्बन्धि मुद्दा संसदमा प्रवेश गराउने प्रतिवद्धता पनि उनले गरेका छन् । ‘म गर्न, हुन नसक्ने काममा प्रतिवद्धता गर्दिन, जे बोल्छु त्यो पुरा गर्छु’, उनले सुनाए ।

घिमिरेले सोमबार सांझ एक पत्रकार सम्मेलन गरि आफ्ना चुनावी प्रतिवद्धता सार्वजनिक गरिसकेका छन् ।

पाँच बुंदे प्रतिवद्धतापत्रमा संस्थागत सुधार, बेलायतवासी नेपालीबीचको सामाजिक सद्भाव अभिवृद्धि र सामाजिक अभियानको निरन्तरतासहितका प्रमुख तीन क्षेत्रमा काम गर्ने घिमिरेको अठोट छ ।

चुनावी प्रतिबद्धतापत्रको पहिलो बुंदामा घिमिरेले ‘संस्थागत विकास र सुदृढ संगठन’ को एजेण्डा राखेका छन्। उनले दोस्रो बुंदामा ‘पूर्व गोर्खाज, सम्पत्तिको सुरक्षा र नागरिकताको निरन्तरता’ तथा तेस्रोमा ‘नेपाली विद्यार्थी– हाम्रो सरोकार’ को एजेण्डा ल्याएका छन्। त्यस्तै, ‘आजको युवा भोलिका भविष्य’ र ‘लगानीको अवसर विज्ञताको कदर शीर्षक’का अन्य दुई एजेण्डा पनि उनको प्रतिबद्धतामा छन् ।

पूर्वबाट चम्किएका दिनेश

सानैदेखि अध्ययन र अतिरिक्त क्रियाकलापमा तेज थिए उनी । उनी स्कुल पढ्दा रेडक्रस, स्काउटका चुनावमा उत्रिएर जित्थे । एक जमाना मार्सल आर्ट र फुटबल खेलाडी पनि थिए उनी ।

नेपालकै सबैभन्दा कान्छो ‘चिफ एक्जुकेटिभ’ पनि भए उनी । २३ वर्षको कलिलो उमेरमा उनले खाद्य उत्पादक कम्पनीको सिइओको जिम्मेवारी सम्हालेका थिए ।

आइए पास गरेपछि उनले एमएसम्म अध्यापन पेशामा आफूलाई समर्पित गरे ।

२०४६ सालको आन्दोलनअघि देखि विद्यार्थी राजनीतिमा होमिएका थिए घिमिरे । ०५१-५२ मा मानवअधिकार नेटवर्कको झापा सचिव र ०५२-५३ तिर राष्ट्रिय योजना आयोगको भाषाविज्ञ भएर पनि काम गरेको अनुभव उनीसंग छ । ०५२-०५३ तिर नै उनी जोग्राफिकल सोसाइटीको सदस्यसचिव बनेका थिए ।

सन् २००१ मा उच्च शिक्षा अध्ययन सिलसिलामा बेलायत उत्रिए घिमिरे । ताप्लेजुंगमा जन्मिएका उनी झापा, काठमाडौं हुंदै लन्डन आइपुग्दा एउटा ‘आइकन’ बनेका छन् ।

उनी विगत एक वर्षदेखि ५२ बिलियन डलर बन्डको अमेरिकी कम्पनीमा ‘एफडीआइ कन्सल्टेन्ट’ का रुपमा कार्यरत छन् ।

बेलायत आएपछि पनि उनी धेरै संघसंस्थामा संलग्न भए । नेपाल फोरम ग्रीनवीचको संस्थापक महासचिव, ओएनएफको संस्थापक उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष भइसकेका घिमिरे एनआरएनमा स्थापनाकाल २००३ देखि नै निरन्तर लागिरहे । सन् २००७ देखि ०२१ सम्म एनआरएनए यूकेको नियमित सल्लाहकार रहेका उनी ०२१-०२३ मा आइसीसी सदस्य निर्वाचित भएका थिए । आइसीसी सदस्यमा उनी जस्तो सक्रिय अरु देखिएनन् ।

२०१५-१७ कार्यसमितिमा आर्थिक समितिको सदस्य र १७ देखि ०२१ सम्म नेपाल प्रवर्धन समितिको सदस्य समेत भए उनी ।

उनको सामाजिकबाहेक शिक्षण संस्था व्यवस्थापन र राजनीतिमा समेत राम्रो दख्खल छ । स्पष्ट वक्ता पनि मानिन्छन् घिमिरे । अहिले आममानिसले प्रश्न गरिरहेका छन् – ‘के उनी बेलायतको नेपाली समुदायले खोजिरहे जस्तो लिडरसीप देखाउन सक्षम होलान् ?’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू