शुक्रबार, पुष २६, २०८१
13:39 | १९:२४

ललिता निवास प्रकरणमा थप तीन पक्राउ, सात दिनभित्र संरचना हटाउन निर्देशन

रासस जुलाइ २, २०२३

काठमाडौँ, १७ असार–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका वडा नं ४ का सचिव तथा हाल महागरपालिकाको सहकारी विभागका अधिकृत शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जन रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

सरकारी लिखत किर्ते मुद्दामा तीनै जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोको प्रहरी टोलीले यसअघि उक्त प्रकरणमा चार जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या सातजना पुगेको छ ।

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिन
काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो ।

स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए । आज कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ ।

उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।

१६ हजार पाँच सय अनधिकृत संरचना हटाइयो

कामपाले गत भदौ ७ गतेदेखि अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम सुरु गरेको हो । हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाइएको कामपाले जनाएको छ ।

यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण, दुई सय ३१ अनधिकृत सवारी वर्कसपलाई कारबाही र ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरेको छ ।

जथाभावी रोकेर राखिएको १६ हजार सात सय ५७ सवारीलाई नियन्त्रणमा लिइएको कामपाले जानकारी दिएको छ । निर्वाचनको बेला भएको घोषणाअनुसार काम गर्ने क्रममा यी उपलब्धिहरू प्राप्त भएको कामपा जनप्रतिनिधिको भनाइ छ ।

सुरक्षा र पैदल यात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । सात किलोमिटर नयाँ ढल निर्माण एक हजार ५०० मिटर फुटपाथ निर्माण भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू