शनिबार, पुष २७, २०८१
11:59 | १७:४४

लन्डनमा नेपाली मेला सफल बनाउन दूतावाससंग तमुधिं यूकेको छलफल

नेपाली लिङ्क जुलाइ १, २०२३

लन्डन । लन्डनमा नेपाली मेला सफल बनाउन यहांस्थित नेपाली दूतावासमा छलफल भएको छ ।

मेला आयोजक तमुधिं यूके पदाधिकारी र दूतावास कर्मचारीबीच शुक्रबार मेला तयारीबारे छलफल भएको हो ।

१४ औं नेपाली मेला आउंदो २७ अगष्ट आइतबार लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा हुंदैछ ।

छलफलमा दूतावासका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख रोशन खनाल, जनरल ब्रिगेडिर रत्न गोदार र द्धितीय सचिव रामबाबु नेपाल सहभागी थिए ।

कार्यक्रम सञ्चालन गर्दै तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सबैको परिचय गराएका थिए ।

मेला संयोजक तथा तमुधिं यूके उपाध्यक्ष परशुराम गुरुङले शुरुवातदेखि अहिलेसम्मको मेला भलक देखाए । उनले नेपाली मेलाको तयारी कसरी भइरहेको छ भन्नेबारे अवगत गराएका थिए । उनले स्थानीय क्षेत्रमा ‘लिफ्टलेट’ वितरण गरेर यसलाई सफल बनाउने योजना पनि सुनाए ।

छलफलमा राजदूत आचार्यले मेला समस्त नेपालीको गौरवको विषय भएकाले यसमा पूर्ण सहयोग हुने आश्वासन दिए । राजदूत आचार्यले मेलामा अरु देशका ‘डिप्लोम्याट्स’ निम्त्याउन सक्दो पहल 
गर्ने पनि बताए। तमुधिं यूकेले मेला आयोजना गरेपनि यसमा सम्पूर्ण नेपालीको स्वामित्व रहेको राजदूतको धारणा थियो ।

विदेशी भूमिमा नेपाली कला संस्कृति र परम्परा जगेर्ना गर्न मेला महत्वपूर्ण कोशेढुंगा बनेको पनि राजदूत आचार्यले बताए ।

नेपाली मेलामा दूतावासको प्रत्यक्ष संलग्नता र सहकार्य रहंदै आएको छ । दूतावासकै प्रायोजनमा मेलामा उत्कृष्ट झांकी प्रस्तुत गर्ने समूहलाई ‘एम्बासडर कप’ प्रदान गरिन्छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले धन्यवाद दिंदै मेलामा आफ्नोतर्फबाट तयारी भइरहेको र दूतावासबाट थप सुझाव-सल्लाह अपेक्षा गरिएको बताए ।

सो अवसरमा सैनिक सहचारी रत्नबहादुर गोदार ब्रिगेडियर जनरलमा पदोन्नति भएकामा तमुधिं यूके अध्यक्षले उनलाई फेटा र भांग्रा ओढाएर बधाइ दिएका थिए । आमा समूहले पनि श्रीमति विनु गोदारलाई सम्मान गरेको थियो ।

छलफलमा तमुधिं पदाधिकारी र सल्लाहकार गरि करिब १५ जना सहभागी थिए । करिब एक घण्टा चलेको छलफल समापनपछि १५ असारको अवसरमा दही चिउरा खाएर सहभागी बाहिरिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू