यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी



फाइल तस्बिर- एएफपी
एडेन, १४ असार–यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ ।
विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भूभाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले घोषणा गरेका छन् ।
हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि उनीहरूको तत्परताको सङ्केत भएको उनले बताए ।
यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो सङ्ख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि नयाँ खतरा आएको हो ।
त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनसमर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन् ।
यमनी सेनाको छैटौं क्षेत्रीय सैन्य कमाण्डका चिफ अफ स्टाफ मोहम्मद बिन रसियाहले हुथी विद्रोहीको ‘अकर्मण्यता’ र लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले चालिएका कदमहरूको प्रतिवाद गर्न व्यापक तयारी गरिएको बताएका छन् ।
शनिबार यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्ध तयारी बढाएको जानकारी गराएका थिए ।
विशाल सैन्य परेडमा हुथीविद्रोहीको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो । पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो ।
उनीहरूबीच सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक बर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५