शनिबार, पुष २७, २०८१
11:54 | १७:३९

बेलायतमै पहिलोपटक ‘आर्म्ड फोर्सेज डे’ मा फहराइयो गोर्खा सैनिक झन्डा

नेपाली लिङ्क जुन २९, २०२३

लन्डन –  गत शनिबार लन्डनमा आयोजित आर्म्ड फोर्सेज डे (सशस्त्र बल दिवस ) परेडमा सम्भवत: बेलायतमै पहिलोपटक गोर्खा सैनिक झन्डा फहराइएको छ।

लन्डन बरो अफ बार्नेटका पूर्व  डेपुटी मेयर काउन्सिलर लक्ष्य गुरुङको विशेष पहलमा बार्नेटस्थित रोयल एयर फोर्स संग्रहालयमा गोर्खा ब्रिगेड एसोसियशनको झन्डा तयार गरी फहराइएको हो ।

“म डेपुटी मेयर हुँदा विभिन्न सशस्त्र बल दिवस परेडहरुमा सरिक हुँदा सबैले गोर्खालीहरुको स्टान्डर्ड बियरर झन्डा छैन भनेर सोध्ने गर्ने हुनाले मैले गत बर्ष बर्न्टओक नेपाली समाजको बार्षिक साधारण सभा बैठकमा ब्रिगेड अफ गोर्खाजको झन्डा बनाएर प्रत्येक वर्ष मनाइने सशस्त्र बल दिवस र सन्डे रेमेम्बरेन्स परेडमा स्टान्डर्ड बियररले बोकेर फर्फराउन सके हामी गोर्खालीहरुको पहिचान हुने थियो भनेर प्रस्ताव राखेको थिएँ । मेरो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गर्‍यो”- गुरुङले भने।

हरियो पृष्ठभूमिको ब्रिगेड अफ गोर्खाजको झन्डामा जोर खुकुरीको चित्र अङ्कित गरिएको छ। झन्डा तयार गर्न लाग्ने खर्च पूर्व गोर्खा सैनिक ढक राना मगर र बर्न्टओक नेपाली समाजले जुटाएका थिए।


रोयल एयर फोर्स म्यूजियम लन्डनमा लन्डन बरो अफ बार्नेटकी मेयर काउन्सिलर नागस नारेन्थिराको अध्यक्षतामा आयोजित समारोहमा उक्त झन्डा लन्डन बरो अफ बार्नेटका लागि बेलायतका राजाका प्रतिनिधि डिपुटी लेफ्टिनेन्ट मार्टिन रसलले बर्न्टओक नेपाली समाजका अध्यक्ष विष्णु गुरुङ, सदस्यहरु ढक राना मगर र उदय गुरुङलाई हस्तान्तरण गरेका थिए ।

परेडमा गोर्खालीहरुको नेतृत्व बर्न्टओक नेपाली समाजका अध्यक्ष पूर्व गोर्खा विष्णु गुरुङले गरेका थिए ।

कार्यक्रममा पूर्व मेयरहरु, काउन्सिलरहरु, सशस्त्र सेनाका सदस्यहरु, दिग्गज ब्यक्तिहरु, बार्नेटका वासिन्दाहरु र गोर्खा परिवारका सदस्यहरुको उत्साहजनक उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू