बेलायतका पाँच नेपाली व्यवसायी जसले बनाए ‘अन्तिम संस्कार’
लन्डन । बेलायत सरकारको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली हुन् स्वर्गीय कुलबीर थापा । उनै थापाको जीवनीमा आधारित चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ निर्देशनपछि फिल्म दुनियाँमा परिचय बनाए प्रदीप शाहीले ।
७३ मिनेट लामो उक्त फिल्म दुई बर्ष अघि बेलायतस्थित गोर्खा सन्तानहरुको संयुक्त प्रयासमा क्राउड फन्डिङ (चन्दा संकलन) गरि बनाइएको थियो ।
उक्त फिल्मले बेलायत र नेपालबीच सम्बन्ध थप प्रगाढ र युवा पुस्तालाई गोर्खा योगदान एवं साहसबारे अवगत गराउन सहयोग गरेको कतिपयको विश्वास छ ।
तिनै युवा निर्देशक शाही अहिले नितान्त फरक विषयवस्तुको चलचित्र ‘अन्तिम संस्कार’ लिएर दर्शकमाझ आएका छन् ।
गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भइरहेको उक्त चलचित्र लामाहरुको संस्कारसंग जोडिएको सामाजिक तथा सांस्कृतिक कथावस्तुमा आधारित छ । ‘मर्डर मिस्ट्री’ को कथा चलचित्रमा समावेश छ। फिल्म हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको हो ।
सस्तो मनोरन्जनभन्दा पनि कथाका पात्रमा केन्द्रित रहेर नयां प्रयोग गर्ने जमर्को गरिएको बताउंछन् एकजना निर्माता उत्सव विष्ट ।
फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारीलगायतको अभिनय छ । दीया बेलायतकै नायिका हुन् । निर्देशक शाहीसहित ५ जना निर्माताहरु भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट र रविन्द्र श्रेष्ठ बेलायतकै सफल व्यवसायी हुन् ।
साई प्रोडक्सन्को ब्यानरमा तयार फिल्ममा ह्याम्सायर अकाउन्टेन्ट्सले सहकार्य गरेको छ ।
ह्याम्सायर अकाउन्टेन्ट्सका निर्देशक भाइराजा यही समूहले वर्षेनी फिल्म बनाउने सोच बनाएको बताउंछन् । ‘हामी परम्परागत फिल्मभन्दा पनि केही पृथकशैली र सन्देश बोकेका चलचित्र निर्माणतिर जुटेका छौं’, उनले भने ।
छिट्टै नै बेलायतमा समेत प्रदर्शन गर्न लागिएको ’अन्तिम संस्कार’ नेटफ्लिक्स वा प्राइम अमेजनमा राख्ने तयारी भइरहेको उनको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५