शनिबार, पुष २७, २०८१
12:07 | १७:५२

तमु समाज यूकेको १६औं वार्षिक साधारण सभा सम्पन्न

नेपाली लिङ्क जुन २६, २०२३

लण्डन–तमु समाज यूकेको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत २४ जुन शनिबार तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा साधारणसभा भएको हो ।

अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले संयुक्त रुपमा पानासमा दीप प्रज्वलन गरि शुभारम्भ गरेका थिए । दीप प्रज्वलनपछि नेपाल र बेलायत दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो।

साधारणसभाको आरम्भमा समाजका दिवंगत सदस्यहरुको स्मृतिमा एक मिनेट मौनधारण पनि गरिएको थियो।

महासचिव धरमबल गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउदै सञ्चालन गरेको वार्षिक साधारण सभामा उपाध्यक्ष बिन्दु घलेले स्वागत मन्तव्य, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र पूर्व अध्यक्ष शिवशरण गुरुङले शुभकामना मन्तव्य दिएका थिए।

मन्तव्यका क्रममा दुबै वक्ताले तमु समाज यूकेले विगत देखि वर्तमानसम्म गरेका विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुको प्रशंसा गर्दै समाजका सबै पदाधिकारीहरुलाई धन्यवाद पनि दिएका थिए ।

साधारण सभामा महासचिवले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेपछि क्रमशः आमा समूह अध्यक्षले आमा समूहको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खेम बहादुर गुरुङ र अध्यक्ष शिव कुमार गुरुङले संयुक्तरुपमा सामाजिक भवन परियोजना र संस्थाको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभामा प्रस्तुत गरेका सबै प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको थियो । सभामा समाजको विधान पुनर्लेखन र आगामी वर्षको योजना एवं कार्यक्रमबारे बुंदागत रुपमा छलफल गरि महत्वपूर्ण निर्णयहरु गरिएको छ ।

सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको साधारण सभामा सदस्यहरुको बोल्ने समयमा सबैले समाजको सर्वोपरि हित, उन्नति र भावी कर्यक्रमका निम्ति सकारात्मक सुझाव दिंदै हालसम्म भइरहेका कार्यहरुमा खुशी प्रकट गरे ।

सभामा गएको आर्थिक वर्षमा समाजमा सम्पन्न भएका र गरेका विभिन्न उल्लेखनीय तथा महत्वपूर्ण कार्यहरुको प्रशंसा गर्दै त्यससंग सम्बन्धित विभिन्न विशेष व्यक्तित्वहरु उपर धन्यवाद प्रस्ताव पनि परित गरिएको थियो।

साधारण सभामा सदस्यहरुले बोल्ने क्रममा उठेका र प्रस्ताव गरेका विभिन्न विषयमा पनि आवश्यक छलफल गरि निर्णयहरु भए ।

अन्तमा अध्यक्ष शिव कुमार गरुङले यस वर्ष नेपाल भ्रमणमा रहदा समाजको तर्फबाट गरेका कार्यहरुको संक्षिप्त चर्चा, विगत एक वर्षमा समाजले गरेका उल्लेखनीय कार्य र उपलब्धिहरुको चर्चा गरे । उनले भावी कार्यक्रमबारे पनि संक्षेपमा प्रकाश पार्दै समाजप्रति सबैले गरेको सहयोग र योगदानका निम्ति आभार प्रकट गरे ।

साधारण सभा समापनपछि तमु समाज यूकेका पूर्व सांस्कृतिक सचिव सरु गुरुङ रानाको संयोजन तथा निर्देशनमा तमु पहिरनमा सजिएर सभामा उपस्थित सबै सदस्यहरु, आमा, दिदिबहिनी दाज्युभाईहरु तमु समाज यूके स्वागत गीतको भिडियो छायांकनमा सहभागी भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू