शुक्रबार, पुष २६, २०८१
13:44 | १९:२९

काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ५४ करोड बजेट

रासस जुन २५, २०२३

काठमाडौँ, १० असार–काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ ।

आज राष्ट्रिय सभागृहमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ ।

कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो ।

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्धनजस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।

कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड विनियोजना गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि रु सात करोड विनियोजन गरिएको छ । बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड बिनियोजन गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू