एनआरएनए यूके अध्यक्ष उम्मेदवार कंडेलले दिए चुनावी अभियानलाई तीव्रता
लन्डन । गैर आवासीय नेपाली संघ यूकेको आगामी कार्यकालका लागि अध्यक्ष उम्मेदवार उपाध्यक्ष डा. नारायण कंडेलले घर दैलो अभियान शुरु गरेका छन् ।
नर्दन आयरल्याण्डवासी कंडेलले आफ्नो गृहनगरबाहेक, इंग्ल्याण्डको बर्मिङहम, रसमोर र लन्डनमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका हुन् ।
निकट भविष्यमा संघका पन्जीकृत सदस्य सामू आफूलाई अध्यक्षका रुपमा निर्वाचित गर्नुपर्ने कारण, उद्देश्य र उम्मेदवारीको औचित्य सम्बन्धी प्रस्ताव लिएर औपचारिक रुपमा उपस्थित हुने पनि उनले जनाए ।
संघको निर्वाचन अनलाइनमार्फत आउंदो २२ जुलाईमा हुंदैछ । यसपटक ४ हजार ४२२ जनाले एनआरएनए यूके सदस्यता लिएका छन् ।
अध्यक्ष पदका सशक्त उम्मेदवार डा. कंडेलले आफ्नो पक्षमा माहोल राम्रो बन्दै गएको बताए । ‘नर्दन आयरल्याण्डबाटमात्रै १२७ जनाले सदस्यता लिएका छन् । सबै ठाउं गरेर मेरो पक्षमा झण्डै २३ सय सदस्य हुनुहुन्छ । म संस्थाको सदस्यता संख्याले थप उत्साहित र आशावादी छु’, उनले भने ।
मिडल्याण्डका एनआरएन अभियन्ता कोशलेश्वर ढकालले कंडेलले ढिलो तर सशक्त रुपमा चुनावी अभियान शुरु गरेको बताए । ‘उहां (कंडेल) एकमात्र वौद्धिक, अनुभवी र भिजन भएको उम्मेदवार हो भन्ने हामीलाई लाग्छ । खस्किएको एनआरएनए यूके साख जोगाउन पनि उहांलाई नेतृत्वमा ल्याउन जरुरी छ’, ढकालले भने ।
‘म एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छु । एनआरएनए यूकेको सुदृढीकरणका लागि आलोचना, गाली र ताली मेरो हकमा पर्याय बने’, उनले भने- ‘संसारभर रहेका नेपालीहरुको साझा संस्थालाई अहिलेको रसातलबाट उद्धार अब केवल नयाँ सोच सहितको योग्य नेतृत्वले मात्र गर्न सक्छ । म यो चुनौति स्वीकार गरेर अभियानमा जोडिएको छु ।’ मतदाताले साथ दिने उनको विश्वास छ ।
संघमा विगतमा देखिएको विभाजन, यसको स्थानीय तथा केन्द्रिय तहको उद्देश्य र उत्साहविहीन नेतृत्वका कारण आम नेपाली समुदायमा अभियानप्रति वितृष्णा बढ्दै गएको स्वीकार्दै उनले यसलाई परिमार्जन गर्दै संस्था र अभियानको श्रीवृद्धि गर्ने अभिभारा अब आफूहरुको कांधमा आएको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५