शनिबार, पुष २७, २०८१
11:53 | १७:३८

युवा व्यवसायी हान्सनले एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिने

नेपाली लिङ्क जुन २२, २०२३

लन्डन । लन्डनका युवा व्यवसायी हान्सन गौचनले एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सुनिलबाबु खड्का नेतृत्वको एनआरएनए यूकेको २०२३-२०२५ का लागि उनले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

‘म आधिकारिक रूपमा घोषणा गर्न चाहन्छु कि मेरो मुख्य टोली र सल्लाहकारहरुसंग धेरै चरणको बैठकपछि मैले अध्यक्षमा उम्मेदवार दिने निर्णय गरेको छु’- उनले भने ।

आउंदो २२ जुलाईमा निर्वाचन हुंदैछ ।

उनले छिट्टै आफ्नो चुनावी अभियानको मार्गचित्र र पूर्ण घोषणापत्र लिएर आउने जनाए । बेलायत र नेपाल दुवै सरकारका उच्चस्तरीय नेता, नीति निर्माता, मेयर, सांसद, मन्त्रीहरू र प्रधानमन्त्रीसंग प्रत्यक्ष सम्पर्क राख्दै ब्रिटिश नेपाली, ब्रिटिश गोर्खा र नेपाली जनताको हरेक अधिकारका लागि लड्ने वाचा पनि उनको छ ।

‘म सधैं जनताको आवाज बन्ने छु । ब्रिटिश गोर्खाको अधिकारका कुरा गर्दा जनता र नीति निर्माताहरू अन्योलमा परेकाले म ब्रिटिश नेपाली, ब्रिटिश गोर्खा र यूकेका नेपालीका फरक–फरक अधिकारलाई स्पष्ट रूपमा वर्गीकरण गर्नेछु’, उनले 
भनेका छन्, ‘बेलायत र नेपाल दुवैका नीतिनिर्मातालाई स्पष्ट रूपमा बुझाउने छु ।’

उनले आफ्नो जीत भए समाजलाई केही दिने र नेपाली समाजको उन्नति आदिका लागि एनआरएनए यूके प्लेटफर्ममा युवाहरुलाई संलग्न हुन प्रोत्साहित गर्ने पनि जनाए ।

उनले साना, मझौला र ठूला व्यापारिक सम्बन्धका साथै बेलायत र नेपालबीच घरजग्गा उद्योगलाई जोडेर नेपालको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले एनआरएन यूके अध्यक्ष पद शक्तिशाली भएको जनाउंदै आफूले जिते यसको सही सदुपयोग गरेर नेपाली जनता र नेपाललाई केही दिने प्रण गरे । उनले आफूलाई मत दिन सबै मतदातामा अपिल पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू