शुक्रबार, पुष २६, २०८१
14:46 | २०:३१

पोखरामा पहिलोपटक अन्तरराष्ट्रिय जहाज अवतरण

रासस जुन २१, २०२३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार चीनको सिचुआन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको विमान पहिलोपटक अवतरण गर्दै । तस्बिर- कृष्ण दवाडी/रासस

गण्डकी, ६ असार- पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक आज बिहान अन्तरराष्ट्रिय जहाज अवतरण भएको छ ।

छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गरेको हो ।

सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः०६ बजे  अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए ।

उक्त जहाजबाट चीन भ्रमणमा गका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डशिप ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका हुन् । 

पहिलो अन्तरराष्ट्रिय उडानबाट ओर्लेका यात्रुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरेका थिए । 

उक्त जहाजबाट पोखरा आएका चिनियाँ सरकारी अधिकारी, खेलाडी र पर्यटक सहितको टोलीको स्वागतार्थ सङ्क्षिप्त समारोह आयोजना गरिएको थियो ।

उक्त जहाज आजै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कने जनाइएको छ । 

पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गतेदेखि सञ्चालित उक्त विमानस्थलबाट यसअघि आन्तरिक उडान मात्रै हुँदै आएको थियो ।

व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । 

विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू