शनिबार, पुष २७, २०८१
11:48 | १७:३३

ब्रिटिश धनाढ्यहरु सवार पनडुब्बी आन्ध्र महासागरमा अझै बेपत्ता

नेपाली लिङ्क जुन २१, २०२३

लण्डन- टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी हराएपछि गत आइतवारदेखि खोजी जारी छ।

अहिले उत्तर आन्ध्र महासागरमा पाँच मानिससहित हराइरहेको ओशनगेटको उक्त पनडुब्बीमा सीमित अक्सिजन बाँकी रहेको मानिएको छ।

उक्त पनडुब्बी खोज्न थप स्रोतको परिचालन गरिएको र समुद्रका गहिराइको उद्धारमा विशेषज्ञता भएका निजी कम्पनीहरू समेत सहभागी भएका बीबीसीले जनाएको छ ।

खोजी अभियानमा अहिले विभिन्न देशका विमान र पानीजहाज पनि खटेका छन्। उक्त पनडुब्बी खोजी अभियानमा अमेरिकी तथा क्यानडाका तटरक्षकहरू पनि सहभागी छन्।

एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित पानीमुनि गएको उक्त पनडुब्बीसँग आइतवारदेखि सम्पर्कविच्छेद भएको थियो।

पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए।

पहिला फ्रान्सको जनसेनामा काम गरेका पल-अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए। उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए।

टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए्।

उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ।

त्यो माथि सतहमा उत्रिएमा त्यसलाई बाहिरबाट मात्र खोल्न मिल्ने विज्ञहरूले बताएका छन्।

सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ।

अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

टूर कम्पनी ओशनगेटले हराइरहेको पनडुब्बीको खोजीका लागि सबै विकल्प प्रयोग भइरहेको बताएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू