लण्डन दूतावासमा बेलायत नेपाल मैत्री सन्धिबारे चर्चा
लन्डन – नेपाल तथा बेलायतबीच १०० वर्ष अघि सम्पन्न सन्धिले नेपालको स्वतन्त्रता जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्येताहरुले जनाएका छन्।
लन्डनस्थित नेपाली दूतावासमा बुधबार बेलुका आयोजित एक समारोहमा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले सन् १९२३ मा नेपाल तथा बेलायतबीच सम्पन्न शान्ति तथा मैत्री सन्धिले नेपालको स्वतन्त्रतालाई स्वीकार गरेको बताए।
‘त्यस बेलाको शक्तिशाली ब्रिटिश साम्राज्यले नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार गर्दा हाम्रो सर्वभौम सत्तालाई बलियो बनायो र उक्त दस्तावेज पछि नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिने बेला पनि प्रस्तुत गरिएको थियो,’ उनले भने।
भारतमा भाइसरायको रुपमा काम गरेका लर्ड कर्जनसंग तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरको निकट व्यक्तिगत सम्बन्धका कारण पनि उक्त सन्धि गर्न बेलायत सहमत भएको सुवेदीको बुझाइ छ ।
अक्सफोर्ड विश्वविद्यालयमा सोसल एन्थ्रोपोलोजीका प्राध्यापक डा डेभिड गेलनरले नेपालको सामाजिक तथा आर्थिक विकासमा बेलायत एक महत्वपूर्ण साझेदार रहेको बताए। उनले गएको ५० वर्ष यता नेपालले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको पनि बताए।
नेपालमा चांडो चांडो राजनीतिक परिवर्तन भएको बताउंदै प्रा गेलनरले भारतमा २०० वर्षमा भएको परिवर्तन नेपालमा हाम्रै जीवन कालमा भएको स्मरण गरे। नेपालको विकासमा सघाउन बेलायतले थप काम गर्नु पर्ने पनि उनले सुझाव दिए।
नर्थम्ब्रिया विश्वविद्यालयमा मानव भूगोल विषयकी एसोसियट प्राध्यापक डा केटी ओभनले नेपालमा पहिरो जस्ता बिपत्तिबाट स्थानीय समुदायलाई जोगाउन थप अनुसन्धान र सहकार्य आवश्यक रहेको बताइन्।
उनले सन् २०१५ को भूकम्प पछि नेपालमा झन्डै २० हजार वटा पहिरो गएको पनि बताइन्।
उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिको जगमा बेलायत नेपाल सम्बन्ध थप मजवुत बनेको बताए । राजदूत आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वबारे जानकारी दिंदै उक्त सन्धिपश्चात् नेपाल बेलायत सम्बन्ध आधुनिक युगमा प्रवेश गरेको एवं दुवै देशले राजदूत आदानप्रदान गर्न शुरुवातसमेत गरेको उल्लेख गरे ।
उनले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका विभिन्न आयामबारे बोल्दै परिवर्तित समयमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्ध थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ बनाउने विषयमा आफ्नो धारणा व्यक्त गरे।
नेपाली दूतावास तथा लन्डन स्कुल अफ इकोनोमिक्सको साउथ एसिया सेन्टरद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमलाई सेन्टरका निर्देशक प्रा ऐनूर भिमानी तथा उप निर्देशक डा निलन्जन सरकारले पनि सम्बोधन गरेका थिए।
कार्यक्रममा दूतावासकी नियोग उपप्रमुख रोशन खनालले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा उपस्थित प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु, नेपाली समुदायका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबीच अन्तरक्रिया समेत भएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५